काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले एकताको घोषणाले कम्युनिस्ट पार्टी, नेपालको भविष्य र जनताको भविष्य सुन्दर र सुनौलो हुने दाबी गरेका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “यो घोषणाले नेपाली जनताको मनमा, श्रमिकको मनमा किसान मजदुरको मनमा निश्चितरूपमा एउटा विश्वास पलाएको छ ।”
यादवले कुनै पनि देशमा पार्टी विभाजन हुँदा लोकतन्त्र कमजोर हुँदा र एकता हुँदा लोकतन्त्र बलियो हुने बताए ।
आफूले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालसँग लामो समयदेखि काम गरेको भन्दै उनले अधुरो आन्दोलन र क्रान्तिको नाम प्रचण्ड रहेको बताए । त्यसैले आफूले माओवादी केन्द्रको छाप लिएर चुनाव लडेको उनको भनाइ छ ।
“नेपालको ऐतिहासिक क्षणमा देश संकटमा छ । मुलुक अहिले गम्भीर अवस्थामा छ । देशको गम्भीरता र संकटलाई पार लगाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल नै हुन् ।”
जेनजी आन्दोलन ताका संविधानलाई रक्षा गर्न दुवैले प्रहरीको साथमा निकास दिएको पनि उनले बताए । “उहाँहरूमाथि कम्युनिस्ट पार्टीको जिम्मेवारीमात्र हैन, नेपालको सर्वमान्य नेताका रूपमा घोषणा गर्नुपर्दछ ।”
नेपालमा भएका सबै आन्दोलन, जनआन्दोलनको नेतृत्व गरेर माग, मुद्दा व्यवस्थित गर्ने अभिभारा एकतापछि बन्ने पार्टीको काँधमा आएको पनि उनले बताए । एकतापछि बन्ने पार्टी सामाजिक न्यायका आधारमा चल्ने उनको विश्वास छ ।