काठमाडौं । नेकपा एमालेले गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा पार्टीका सदस्य संलग्न भएको प्रमाणित भए कारबाही गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा कारबाहीको जानकारी १५ दिनभित्र गराउन भनिएको छ ।
“भदौ २३ र २४ गतेको जेनजीका नाममा सुरू भएको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा पार्टी र पार्टीसम्बद्ध जनसंगठनका कुनै सदस्य संलग्न भएको प्रमाणित भएमा सम्बन्धित पार्टी कमिटी र जनसंगठनले विधानबमोजिम आवश्यक कारबाही गर्ने । १५ दिनभित्र त्यस्ता सदस्यहरूमाथि गरिएको कारबाहीको जानकारी पार्टी केन्द्रीय कार्यालयमा गराउने,” अपानिमा भनिएको छ ।
भदौ २३ गते माइतीघरबाट नयाँ बानेश्वर पुगेको शान्तिपूर्ण आन्दोलनमा संसद् भवन घेर्न, पर्खाल भत्काउन भित्र पस्न र मुठभेडको स्थिति सिर्जना गरिएको स्थानमा पुर्याउन कसले भड्काएको भन्ने तथ्य आइसकेको उल्लेख छ ।
घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने सचिवालय बैठकको निर्णय अपानिमा जानकारी गराइएको छ । “सम्भाव्य घुसपैठको आकलन गरेर आवश्यक सुरक्षा सतर्कता किन अपनाइएन र किन गोली चल्ने परिस्थिति निर्माण भयो ? यो सुरक्षा त्रुटि मात्रै थियो कि त्यसमा अरू स्वार्थहरू पनि अन्तरनिहीत थिए ? त्यति ठूलो संख्यामा विद्यार्थी र युवाहरूको हत्या किन र कसरी भयो ? यस घटनाको यथार्थ छानबिन गर्नु र दोषीलाई कानुनबमोजिम दण्डित गर्नु जरूरी छ,” अपानिमा भनिएको छ ।