काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशन त्यसपछि भएका सचिवालय र केन्द्रीय कमिटीका बैठक समेटेर पन्ने अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अपानिमा भदौ २३ र २४ को जेनजी आन्दोलन तथा त्यसले निम्त्याएको विध्वंस र पार्टीका आसन्न ११औँ महाधिवेशनमा बारेमा विस्तृत विश्लेषण गरिएको छ ।
अपानिमा तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि काम चलाउ प्रधानमन्त्रीका रूपमा संसद् बैठकबाट संविधान संशोधन गरेर राजनीतिक समस्याको निकास निकाल्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख गरिएको छ । "प्रतिनिधिसभाको विघटनले मुलुकलाई जनप्रतिनिधि निकायविहीन अवस्थामा पुर्याएको छ र राजनीतिक रिक्तता सृजना गरेको छ," अपानिमा भनिएको छ "यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्रविरोधी शक्तिलाई उत्साहित तुल्याएको छ ।"
एमालेले अलोकतान्त्रिक र असंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति प्रकट गर्दै विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेको छ ।
एमालेले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन भएको गौरीबहादुर कार्की आयोगलाई अस्वीकार गर्ने जनाएको छ । अपानिमा जनाइएअनुसार यति ठूलो घटनाको छानबिनको जिम्मा राजनीति दल, नेता, लोकतान्त्रिक प्रक्रियाप्रति दुराशययुक्त भावना राख्ने व्यक्ति चयन भएकोले यो आयोगलाई एमालेले पूर्ण अस्वीकार गर्ने जनाइएको छ ।
पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा निष्पक्ष छानबिन आयोग गठन गर्न पनि माग गरेको छ । "अहिलेको आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जबरजस्ती मुछ्न खोजेको तर, २४ गते तोडफोड, आगजनी, विध्वंस मच्चाउने र राष्ट्रविरोधी जघन्य कसुर गर्नेलाई प्रहरीले सप्रमाण गिरफ्तार गरेका व्यक्तिहरूलाई छाड्न सघाउने काम गरिरहेको छ’ अपानिमा भनिएको छ, "यस्ता व्यक्तिको नेतृत्वमा गठित आयोगले स्वतन्त्र छानबिन गर्न सक्दैन । यस्तो आयोगबाट निष्पक्षताको अपेक्षा गर्न सकिँदैन ।"
अपानिमा असोज २९–३१ गते भएको केन्द्रीय कमिटी बैठकले पोखरामा ११औँ महाधिवेशन गर्ने निर्णय गरे पनि विषम राजनीतिक परिस्थितिका कारण सचिवालयको बैठकले काठमाडौं सारेको उल्लेख गरिएको छ । अपानिमा महाधिवेशनको उद्घाटन सत्रमा व्यापक रूपमा जनपरिचालन गर्ने योजनासहित महाधिवेशन काठमाडौंमै गर्न लागिएको जनाइएको छ । अपानिमा महाधिवेशन प्रतिनिधि कुन क्षेत्रबाट कसरी छनोट गर्ने, त्यसका आधारहरू के के हुन्, पार्टी सदस्य संख्यालाई के कसरी हिसाब गरेर प्रतिनिधिको संख्या यकिन गर्ने विस्तारमा व्याख्या गरिएको छ ।