काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले क्षेत्राधिकार बाहिर गएर पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकताको नाटक गरेको आरोप लगाएका छन् ।
मंगलबार ललितपुरको बखुण्डोलस्थित एक पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले पार्टीको महाधिवेशन टार्न प्रचण्डले एकताको नाटक गरिएको आरोप लगाएका हुन् ।
“महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर महाधिवेशनलाई टार्ने, पार्टीभित्र विधि, पद्धतिलाई स्थापित गर्न नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उद्देश्यबाट प्रेरित भएर र आफ्नो स्वार्थ केन्द्रित समूहलाई वरिपरि गोलबन्द गरी राख्ने उद्देश्यबाट एकता भइरहेको छ,” शर्माको आरोप छ ।
एकताले देशलाई कुनै निकास पनि दिन नसक्ने र जनताको समर्थन पनि प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।
नेता शर्माले 'हजारौँको केन्द्रीय कमिटी र सयौँको सचिवालय'ले भद्रगोल सिर्जना भइसकेको टिप्पणी गरे ।