काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले पश्चिमा पुँजीवादीहरूले 'डिप स्टेट'को अवधारणाअन्तर्गत नयाँ पुस्तालाई आममानिसभन्दा फरक रहेको भन्ने नियोजित मनोविज्ञान तयार पारेको आरोप लगाए ।
पुरानो पुस्ताले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने भाष्य सिर्जना गरेर युवाहरूलाई आफ्नो स्वार्थमा प्रयोग गरेको कारण नेपालमा जेनजी आन्दोलन भएको उनको भनाइ छ । उनले युवाहरूको माग अनुचित नभए पनि तत्कालीन सरकारसमक्ष मागलाई आउनै नदिएको बताए ।
"मुलुकमा भ्रष्टाचार अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्दछ र सामाजिक सञ्जालको निर्बाध प्रयोग गर्न पाउनुपर्छ भन्ने उनीहरूको माग जायज हो र त्यो अनुचित हो भन्ने हामी ठान्दैनौँ । त्यो सरकारले पूरा गर्न नसक्ने पनि होइन । तर तपाईं, हामीले के बुझ्नुपर्छ भने उनीहरूले राखेका मागहरू सरकारसमक्ष प्रस्तुत नै भएन । कसले यो आन्दोलनको नेतृत्व गरिरहेको छ भन्ने पूर्ववर्ती सरकारलाई जानकारीसमेत रहेन," उनले भने ।
उनले सामाजिक सञ्जाल नियमनको विषयमा भने तत्कालीन सरकार चुकेको बताए । नवयुवाको सूचना प्रविधिमा भएको लगाव र सरकारको नियमनसम्बन्धी तालमेल नमिलेको स्वीकार गरे । सोही कमजोरीको लाभ गलत तत्त्व उठाएको उनको भनाइ छ ।
"हाम्रा युवाहरू सूचना प्रविधिमा यति ज्यादा लत बसिसकेको अवस्था रहेछ कि उनीहरू सूचना प्रविधिबिना बरु भात छोड्न सक्ने, परिवार छोड्न सक्ने तर मोबाइल छाड्न नसक्ने तहमा भएका युवाहरूलाई गलत तत्त्वहरूले भड्काउने कुरामा सफलता हासिल गरे," उनले भने ।
– न्युज एजेन्सी नेपालबाट ।