काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आन्तरिक संगठनात्मक विषयमा छलफल गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकमा केन्द्रीय समितिको बैठक मंगलबार (कात्तिक १८ गते) बस्ने निर्णय भएको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।
“संयुक्त भेला, एकीकृत समाजवादीलगायत एकतामा आउनेसँगको बैठक कात्तिक २० गते बस्ने तय भएको छ,” बैठकपछि सञ्चारकर्मीसँग सापकोटाले भने ।
बैठकमा अन्य दलसँगको एकतापछि हुने संगठनात्मकलगायत विषयमा पनि छलफल भएको उनको भनाइ छ ।
“एकतामा आउने दलहरूसँगको बैठक २० गते बस्ने निर्णय भएको छ । त्यसअघि समायोजन गर्ने विषयमा नीतिगत वैचारिक छलफल भयो । एकतापछि नयाँ दल पनि दर्ता गर्नुपर्छ । विशेषगरी आन्तरिक संगठनात्मक विषयमा आइतबारको बैठकमा छलफल भयो,” उनले भने ।
नेता जनार्दन शर्मा आइतबारको सचिवालय बैठकमा उपस्थित भएनन् । शनिबार बसेको सचिवालय बैठकमा आफ्नो कुरा राखेर बाहिरिएका नेता शर्मा आइतबारको बैठकमा उपस्थित नभएका हुन् ।
सचिवालय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मा बैठकमा नबसी बाहिरिएपछि 'अराजकता'को संज्ञा दिएका थिए ।
सचिवालय सदस्यसमेत रहेका नेता शर्माले वैचारिक स्पष्टताबिना, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो बनाउनुको सट्टा प्रतिकूल परिणाम ल्याउने बताएका छन् ।