बुटवल । जेनजीको एउटा समूहले पाल्पामा राष्ट्रिय सम्मेलन गरेको छ । काठमाडौंदेखि सातै प्रदेशका प्रतिनिधिहरूको सहभागितामा पाल्पामा राष्ट्रिय सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।
आन्दोलनमा सार्वजनिक वा निजी सम्पत्तिमा कुनै क्षति नपुगेकाले पाल्पालाई सम्मेलनस्थलका रूपमा चयन गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनले ‘जेनजी बडापत्र, २०२५’ पनि जारी गरेको छ । दण्डहीनताको अन्त्य, पारदर्शी र समावेशी शासन प्रणाली निर्माण तथा युवाको नेतृत्वमा शुद्ध राजनीति पुनःस्थापना गर्ने प्रतिबद्धता सम्मेलनले जनाएको छ ।
जेनजीका अगुवा विपीन श्रेष्ठका अनुसार, बडापत्रले भ्रष्टाचारमुक्त समाज र जिम्मेवार राज्य संयन्त्र निर्माणका लागि मार्गनिर्देशन गर्नेछ ।
सम्मेलनले आगामी दिनमा भ्रष्टाचारविरुद्ध अभियान, सचेतना कार्यक्रम, खुला सूचना तथा डिजिटल पोर्टलको कार्यान्वयन, र कानुनी सहकार्यका लागि स्थानीय सरकार, जिल्ला प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।
सम्मेलनमा जेनजीका अगुवा गुञ्जन सिंह ठकुरी, कोसी प्रदेश संयोजक उपार्जन चाम्लिङ, वाग्मती संयोजक अप्सना वानु, लुम्बिनी संयोजक आदित्य आचार्य, सुदूरपश्चिम संयोजक खेमराज साउदलगायत विभिन्न जिल्लाका अध्यक्षहरूको सहभागिता थियो ।