site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनार्दन शर्माको गतिविधि अराजक भएको निष्कर्ष, माओवादीसँग मिल्दै छन् यी पार्टी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ । शनिबार (कात्तिक १५) पेरिसडाँडामा बसेको माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग नेता अग्निप्रसाद सापकोटाले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक विषय टुंगो लागिसकेको बताए । प्राविधिक र संगठनात्मक विषयमा छलफल केन्द्रित भएको उनले जानकारी दिए ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता हुने उनले बताए । प्रेमबहादुर सिंह, राजु कार्की, सुवास काफ्लेलगायत नेतृत्वको पार्टीसँग पनि एकता हुने उनले जानकारी दिए ।

अब एकता गर्न ढिलाइ गर्न नहुने उनले उल्लेख गरे । त्यसो गरिए राष्ट्रिय राजनीतिमा आफूहरूको पहलकदमी ढिलाइ हुने उनले बताए ।

देश झन् अराजकता र संकटतिर गइरहेको उनले टिप्पणी गरे । मिल्न सक्नेजतिलाई मिलाएर पहलकदमी नलिए निर्वाचन हुन नसक्ने अवस्था रहेको उनले बताए ।

उनले माओवादी केन्द्र नफुट्ने जिकिर गरे । पार्टीका नेता जनार्दन शर्माको तौरतरिका अराजनीतिक, अलोकतान्त्रिक भएको उनले आरोप लगाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्