काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको पार्टी एकता प्रक्रिया रोक्न माग गरेका छन् । शनिबार (कात्तिक १५) पेरिसडाँडामा बसेको पार्टी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने जिकिर गरे ।
पार्टी आन्दोलनमा सहिद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको उनले बताए । त्यसलाई छाड्ने र कुण्ठित गर्ने गरिी भएको एकता प्रयासले माओवादी आन्दोलन विसर्जनतर्फ जाने उनले टिप्पणी गरे ।
उनले आम रूपमा समग्र कम्युनिस्ट र समाजवादको आन्दोलनलाई एकीकृत गर्ने गरी अभियान चलाउदा पार्टीलाई नयाँ ठाउँमा लैजान सकिने जिकिर गरे ।
महाधिवेशनबाट विधिसम्मत ढंगले नेतृत्व हस्तान्तरणमा जानुपर्नेमा त्यसलाई अस्वीकार गर्दै एकताका नाममा मनोनीत गरेर आफ्ना वरिपरि सुरक्षा घेरा बनाउने प्रयत्न भइरहेको उनले आरोप लगाए ।
नेता शर्माले माओवादी आन्दोलनलाई बलियो बनाउन गम्भीर हुनुपर्नेमा जोड दिए । आफ्नो लिखित धारणा राखेर शर्मा बैठकबाट बाहिरिएका थिए । हिमालयन टेली भ्वाइस