काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले सबै राजनीतिक दलहरूमा रूपान्तरणको चाप बढाएको उल्लेख गरे । त्यसलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
वाग्लेले मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । "विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरुलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने अवस्थामा मुलुक रहेको छ," उनले भने ।
उनले संविधानबाट 'डिरेल' भएका कतिपय कुरालाई पनि ट्रयाकमा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।