site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
के होला नेकपा (एस)को भविष्य ? एकताको विपक्षमा उभिए झलनाथ–घनश्याम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को बैठक नेकपा (माओवादी)सँगको एकताको विषयले गर्माएको छ ।  बुधबारबाट सुकेधारास्थित मिराकल पार्टी भेन्युमा जारी बैठकमा माओवादीसँग एकता गर्ने कि नगर्ने ? नेताहरु कित्ता क्लियरको चरणमा छन् ।  

पार्टी अध्यक्ष माधवकुमार नेपालसहित अधिकांश पदाधिकारी पार्टी एकताको पक्षमा छन् । 

अध्यक्ष नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एकताका लागि पार्टीको नाम प्रस्तुत गरिएको छैन । तर, सम्भावना भएका घटकसँग एकताका लागि तत्पर रहनुपर्ने उल्लेख छ । 

एकीकृत समाजवादीले एकताको छलफलका लागि डा. बेदुराम भुसालको नेतृत्वमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला रहेको वार्ता टोली बनाएको थियो । टोलीका संयोजक भुसालले बुधबारको बैठकमा एकताबारे भइरहेको पहलबारे ब्रिफिङ गरेका थिए । 

बिहीबारको बैठकमा नेपालको प्रतिवेदन, एकताका विषयमा नेताहरुले धारणा राख्न थालेका छन् ।  सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल भने पार्टी एकताको विपक्षमा उभिए ।  बिहीबारको बैठकमा खनाल–भुसालले पार्टी अध्यक्ष नेपालमाथि प्रश्नै–प्रश्न तेर्स्याए ।

उनीहरूले नेपाललाई पद छोड्न माग गरे र माओवादीसँग एकता गर्नै नसकिने अडान राखे ।  नेताहरुका अनुसार पार्टी एकताको विषयलाई लिएर नेता खनालले अध्यक्ष नेपाललाई पार्टी फुटाएर माओवादीमा मिसिन मिल्छ ? भन्दै सोधेका छन् । 

उनले एमालेबाट विद्रोह गर्दा चारवर्ष अघि साथ दिएकाहरूलाई छाडेर माओवादीमा मिसिन मिल्छ भन्दै प्रश्न तेर्स्याएका छन् । एमालेसँग विभाजन हुँदा भारतमा उपचार गराइरहेका खनालले नेपाललाई साथ दिएका थिए । तर, माओवादीसँगको एकताका लागि खनाल तयार छैनन् । 

“माओवादीका अध्यक्षसहितले कुन पद भन्दै फोन गर्नुभएको हो । तर, उहाँले माओवादीसँग मिल्नै सकिँदैन भन्ने जवाफ दिनुभएको छ,” खनाल निकट नेता भन्छन् । 

बैठकमा खनालले पार्टी बुझाइदिऊँ भन्ने लागेकाहरु गए हुन्छ भन्ने धारणा पनि राखे ।  “क्रान्तिकारी पार्टी बनाउने बेला हो । पार्टी कार्यालय जल्यो, अब पार्टी बनाउन सकिएन । लगेर बुझाइदिऊँ भन्ने लागेर जान मन हुने जानुस् । केहि भन्दिनँ ,” खनालले बैठकमा भने । 

उनले पार्टी निर्माण गर्न सकिने धारणा राखेका थिए । 

खनालले नेपाललाई भ्रष्टाचार मुद्दा लागेकाले नैतिकताका आधारमा अध्यक्ष पदमा बस्न नमिल्ने भन्दै पदबाट राजीनामा दिन पनि माग गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

महासचिव भुसालले नाम र झन्डा मिल्यो भन्दैमा पार्टी एकता गर्न नहुने बताए । एकता प्रक्रिया ठिक नभए झन् ठूलो क्षति हुनेमा सजग गराए ।  “माओवादीसँगको एकताको कुरा गरिरहेका छौँ, ठिक ढंगले र वर्तमान समस्यालाई सम्बोधन हुने गरी भएन भने झन् ठूलो दुर्घटना ल्याउने छ । स्वयं माओवादी पनि सिंगल रहने छैन,” भुसालको टिप्पणी छ ।

भुसालले माओवादी पार्टीमा पनि विभाजनको हुन सक्ने बताएका छन् ।  अध्यक्ष नेपाल र माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वबाट बिदा नलिए पार्टी एकता नहुने धारणा समेत राखे ।  “प्रचण्ड र माधव कमरेड सँगै हुँदा पनि मैले भनेको छु । मूल नेतृत्वले बिदा लिनुहोस्, पार्टी पुनर्गठन गरौँ । अहिलेको समस्या आउनुमा मूल नेतृत्व नै मुख्य जिम्मेवार हो,” उनले बैठकमा भनेका छन् । 

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे पनि पार्टी एकताको पक्षमा छन् ।  उनले पार्टीमा संख्या बढ्नुभन्दा पनि घट्दै जान थालेकाले पार्टी एकता गर्नुपर्ने धारणा राखेका थिए । “आफ्नो पार्टी पनि नचलाउने एकता पनि नगर्ने भनेर कसरी जान सकिन्छ ? हामी झनै घट्दै गएका छौं भन्ने कुरा उहाँको थियो,” एक केन्द्रीय सदस्यले भने ।

संविधान संशोधनको कुरालाई पनि ध्यानमा राखेर अघि बढ्नुपर्ने धारणा उनले राखेका थिए । पार्टीका वरिष्ठ नेता प्रमेश हमालले माओवादीसँगको छलफलको ब्रिफिङ गरेका थिए । उनले पार्टी एकताको ६ महिनापछि नेतृत्व फेर्ने गरी छलफल भएको बताए ।

बैठकमा हमालले महासचिव भुसालले एकताको प्रक्रियाबारे आफू जानकार नभएको बताएपछि जवाफसमेत फर्काएका थिए । 

“एकताको सम्पूर्ण कुरा जानकारी छ । सांगठनिक संरचनाका बारेमा जानकारी छ । नेताहरूले ढाँटेर कुरा गर्नुभयो,” वार्ता समितिका सदस्य हमालले भने, “एक–एक कुरामा जानकारी गराएर वार्ता भएको छ । शब्द–शब्दमा छलफल गरिएको छ ।”

केन्द्रीय समिति बैठकले पार्टी एकताको निर्णय गर्ने सम्भावना छ । 

एक पदाधिकारीका अनुसार माओवादी र एकीकृत समाजवादीले संयुक्त भेला गर्ने गरी छलफल अघि बढेको छ ।

“बैठकले पार्टी एकताको निर्णय गर्छ । छिट्टै दुई पार्टीको संयुक्त भेला गर्ने गरी कुरा भएको छ । पार्टी पनि चलाउने नसक्ने, पार्टीमा नयाँ थप्न पनि नसक्ने भएपछि बसेर के गर्ने ?,” ती पदाधिकारी भन्छन्, “ चुनावलाई मध्यनजर गरी पार्टी एकता गर्नुको विकल्प छैन ।”

एकीकृत हुने पार्टीका लागि नाममा नेकपा र समावजवादी नछोड्ने भन्ने सहमति रहेको ती पदाधिकारीको दाबी छ ।  एक भएर बन्ने पार्टीको नेतृत्वका विषयमा प्रचण्ड र नेपालबीच नै टुंगो लाग्ने उनले बताए ।  उता, पार्टी एकताको निर्णय भएमा सम्मानित नेता खनाल र भुसालसहितका  नेताहरु एकीकृत समाजवादी नै पुनर्गठनको पक्षमा उभिने सम्भावना छ । 

“पार्टी एकता भइहालेमा दुई नेताले पार्टी पुनर्गठनको मुद्दा उठाएर यही पार्टीलाई ब्युँताएर अघि बढ्ने सम्भावना छ,” एक नेता भन्छन् । 

केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले बोलेपछि अध्यक्ष नेपालले जवाफ दिनेछन् । शुक्रबारसम्मका लागि तय भएको बैठक लम्बिने देखिएको छ ।  बैठक लम्बिएमा भाडा तिर्नका लागि भन्दै केन्द्रीय सदस्यहरुले रकम दिने घोषणा बुधबार नै गरेका थिए ।  
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्