site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दल दर्ताका लागि नागरिक उन्मुक्ति पार्टी नेपालले आयोगमा बुझायो निवेदन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले घोषणा गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालले दर्ताका लागि आज (बिहीबार) निर्वाचन आयोगमा निवेदन दिएको छ । नागरिक उन्मुक्ति पार्टी नेपाल नाम राखिएको पार्टी दर्ताका लागि निवेदन दिइएको दीप तामाङले बताए । साथै, चुनाव चिह्न जाँतो प्रस्ताव गरिएको उनको भनाइ छ ।  

यसअघि नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट चुनिएका अधिकांश केन्द्रीय सदस्य रेशमलालले घोषणा गरेको नयाँ पार्टीमा समाहित भएका छन् । उनले बाह्रखरीसित भने, “नागरिक उन्मुक्ति पार्टीको प्रस्तावित चुनाव चिह्न जाँतो राखिएको छ । हामी सबै नयाँ मात्र यस पार्टीमा छौँ । पार्टी विभाजन भएको हैन ।”

रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न ढकियाबाट जितेर सांसद बनेकाहरू नयाँ पार्टीमा आवद्ध नभएको उनको भनाइ छ । उनले भने, “स्थानीय तहका जनप्रतिनिधि पनि कोही हामीसँग हुनुहुन्न ।”

रेशमलालले भदौ २९ गते नयाँ पार्टी गठनको घोषणा गरेका थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेशमलाल रुष्ट बनेका थिए । त्यही बखत उनले बाह्रखरीसित भनेका थिए, “अध्यक्षसँगको सबैखाले सम्बन्ध समाप्त भएको छ ।”

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्