काठमाडौं । रेशमलाल चौधरीले घोषणा गरेको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ताका लागि आज (बिहीबार) निर्वाचन आयोग जाँदै छ । आफूहरू आजै दल दर्ताका लागि आयोग जान लागेको नागरिक उन्मुक्ति पार्टीका वाग्मती अध्यक्ष दीप तामाङले जानकारी दिए ।
उनका अनुसार, नयाँ दलको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल राखिएको छ । यसअघि, नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट चुनिएका अधिकांश केन्द्रीय सदस्य आफूहरूको नयाँ पार्टीमा समाहित भएको उनले बताए ।
“नागरिक उन्मुक्ति पार्टीको प्रस्तावित चुनाव चिह्न जाँतो राखिएको छ । हामी सबै नयाँमात्र जाने हो, पार्टी विभाजन भएको हैन,” उनले बाह्रखरीसित भने ।
रेशम संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न ढकियाबाट जितेर सांसद बनेका कोही पनि अहिले नै पार्टीमा आबद्ध नभएको तामाङको भनाइ छ ।
“स्थानीय तहका जनप्रतिनिधि पनि कोही हामीसँग हुनुहुन्न । किन कि अहिले त हामीले नयाँ पार्टी दर्ता गर्न लागेको हो । नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्नबाट विजयी कोही पनि अहिले हामीसँग हुनुहुन्न,” उनले भने ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले गत भदौ २९ गते नयाँ पार्टी घोषणा गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेशमलाल चौधरी रुष्ट बनेका थिए । त्यतिबेला उनले बाह्रखरीसित भनेका थिए, “अध्यक्षसँगको सबै खाले सम्बन्ध समाप्त भएको छ ।”