site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकासँगको व्यापार युद्धमा चीनले जित्दै छ ?

काठमाडौं । दक्षिण कोरियाको राजधानी सोलमा मञ्च तयार छ । बिहीबार त्यहाँ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङको भेटवार्ता हुँदै छ ।

यो भेटलाई पहिलेदेखि नै वर्षको सबैभन्दा महत्त्वपूर्ण बैठक भनिएको छ । दुवै नेता एकअर्काका प्रतिद्वन्द्वी हुन्, तर आपसी सम्मान पनि राख्छन् । भेटमा अमेरिका र चीनबीच नयाँ व्यापार सम्झौता हुने अपेक्षा गरिएको छ ।

सत्य के हो भने विश्वका दुई ठूला अर्थतन्त्रहरू वर्षौंदेखि चलिरहेको टकरावबाट थाकिसकेका छन्, तर उनीहरू यो स्वीकार गर्न तयार छैनन् । ट्रम्पको एसिया भ्रमण उनी ह्वाइट हाउस फर्किएपछि पहिलो ठूलो विदेश भ्रमण हो ।

ट्रम्पको टोलीले चीनसँगको महत्त्वपूर्ण सम्झौताका सर्तहरू तयार रहेको संकेत दिएको छ, जसलाई बिहीबार सी चिनफिङसँगको भेटमा अन्तिम रूप दिइनेछ ।

अमेरिकी वित्तमन्त्री स्कट बेसन्टले टिकटकको स्वमित्व अमेरिकाले किन्नेबारे सम्झौता, केही महसुलमा राहत र चीनको रेयर अर्थ मिनरल्स निर्यातमा अस्थायी रोक समावेश हुन सक्ने संकेत दिएका छन् ।

वास्तवमा, अमेरिकाको शैली अब व्यावहारिक भएको छ । ट्रम्प प्रशासनलाई के थाहा छ भने महसुल युद्धलाई जारी राख्न सकिँदैन ।

ट्रम्पको १०० प्रतिशत महसुल लगाउने धम्की चर्चाको विषय बनेको छ । ट्रम्पको महसुलले अमेरिकी उपभोक्ता र उद्योगहरूलाई जति नोक्सान पुर्‍यायो, चिनियाँ निर्यातकर्ताहरूलाई पनि त्यति नै नोक्सान गरायो ।

चीनको जवाफी कारबाही खासगरी रेयर अर्थ निर्यातमा नियन्त्रणले अमेरिकी रक्षा र प्राविधिक क्षेत्रको चिन्ता बढाएको छ । नतिजास्वरूप, दुवै अर्थतन्त्रले नोक्सान बेहोरिरहेका छन्, जबकि उनीहरूका नेताहरू आ–आफ्नो जितको दाबी गर्ने प्रयास गरिरहेका छन् ।

हालैका दिनहरूमा चीनले तनाव कम गर्नका लागि केही रणनीतिक संकेतहरू दिएको छ । उसले अमेरिकाबाट ठूलो मात्रामा भटमासको खरिद फेरि सुरु गर्ने संकेत दिएको छ । र, क्वालालम्पुरमा आसियान सम्मेलनको क्रममा स्कट बेसन्टसँग भेट्न वरिष्ठ व्यापार प्रतिनिधिहरूलाई पठाएको छ ।

यसको बदलामा अमेरिकाले चीनलाई केही उपभोक्ता वस्तुहरूमा महसुलको समीक्षा र अब उप्रान्त प्रविधि हस्तान्तरणसँग सम्बन्धित प्रतिबन्धहरूमा रोक लगाउने भरोसा दिएको मानिन्छ । बेसन्टले क्वालालम्पुरमा भने, “महसुलहरू स्थगित हुनेछन् ।”

अमेरिका र चीनबीच सम्झौता होला ?
चीनका लागि यो समय अत्यन्त महत्त्वपूर्ण छ । बेइजिङको थिंक ट्यांक चार्हार इन्स्टिच्युटका रिसर्च फेलो डेभिड चेनले बीबीसीसँग भने, “वर्तमान चीन–अमेरिका वार्तालाई रचनात्मक र सकारात्मक मानिएको छ । आपूर्ति शृंखलाको वास्तविकता र घरेलु दबाबबाट प्रेरित भएर दुवै देश सन्तुलित सहुलियतमा आधारित एक अस्थायी सम्झौतातर्फ बढिरहेका छन् ।”

उनले हालैका दिनहरूमा चीनको सेयर बजारमा तीव्रता आएको बताए । यसले लगानीकर्ताहरूको विश्वासलाई दुवै सरकारले बीचको बाटो निकाल्नेछन् भन्ने देखाउँछ । 

तर, चेन सम्झौताका तमाम कुराका बाबजुद, आधारभूत मतभेदहरू अझै कायम रहेको बताउँछन् । उनी भन्छन्, “यो सम्झौता केवल एक अस्थायी सन्तुलन हो । दुवै देश पहिले नै अर्को चरणको तयारी गरिरहेका छन् । चीन आफ्नो प्राविधिक आत्मनिर्भरतालाई तीव्र पार्दैछ, जबकि अमेरिका आपूर्ति शृंखलालाई नयाँ आकार दिँदैछ ।”

अर्को शब्दमा भन्नुपर्दा, दक्षिण कोरियामा हुने बैठकबाट केही कुरा बने पनि, यो एउटा यस्तो युद्धविराम हुनेछ, जसपछि युद्ध फेरि सुरु हुन तयार हुनेछ ।

ट्रम्पको एसिया यात्रामा उनका बयानहरू पनि व्यावहारिक रहेका छन् । वासिंटनबाट प्रस्थान गर्नुअघि उनले पत्रकारहरूसँग भने, “चीनले सहुलियत दिनुपर्नेछ र सायद हामीले पनि ।”

उनको स्वर पहिलेभन्दा बढी संयमित थियो । उनका समर्थकहरूबीच पनि के भावना छ भने यो व्यापारिक हतियारको ट्रम्पले प्रभावकारी प्रयोग गरेका थिए, त्यसको धार अब कमजोर भइसकेको छ । चीनले न केवल यो दबाबलाई सहेको छ । तर, आफूलाई त्यसैअनुसार ढालेको छ ।

ट्रम्पसँग सोलमा हुने बैठकअघि चिनियाँ राष्ट्रपतिले चालेको जवाफी कदम चिनियाँ रणनीतिको उत्कृष्ट उदाहरण थियो । उनले रेयर अर्थ मिनिरल्सको निर्यातमा नियन्त्रण कडा गरे, जसअन्तर्गत डिसेम्बरदेखि अब साना शिपमेन्टहरूका लागि पनि सरकारी स्वीकृति आवश्यक हुनेछ । यो विश्वलाई ग्लोबल आपूर्ति शृंखलामा वास्तविक शक्ति कसको हातमा छ भन्ने कुरा सम्झाउनु जस्तै थियो ।

रेयर अर्थ अर्थात् १७ तत्वहरूको समूह हो, जसबाट इलेक्ट्रिक कारदेखि स्मार्टफोन, फाइटर जेट र विन्ड टर्बाइनसम्म चल्छन् । एक हिसाबले रेयर अर्थ २१औँ शताब्दीका उद्योगहरूको आधार हुन् । चीनले यस क्षेत्रको ८५ देखि ९० प्रतिशत वैश्विक प्रशोधन क्षमतामा नियन्त्रण राख्छ ।

चीनले यो नियन्त्रण दशकौँको लगानी र वातावरणीय उपेक्षाबाट पाएको हो, जुन बाँकी देशहरू गर्न तयार छैनन् । चीनका पूर्वराष्ट्रपति देंग सियाओ पिङले भनेका थिए, “मध्य पूर्वसँग तेल छ, चीनसँग रेयर अर्थ छन् ।” यो एक भविष्यवाणी थियो ।

सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेसनल स्टडीज (सीएसआईएस)की ग्रेसलिन बास्करनका अनुसार, शी जिनपिङको यो नीति ट्रम्पका लागि झट्का थियो । सधैँ धम्की दिने भूमिकामा रहने अमेरिकाका राष्ट्रपति, अचानक रक्षात्मक स्थितिमा देखिए ।

पेन्टागनले पहिले नै चीनमाथिको रेयर अर्थ निर्भरता अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा हो भन्दै चेतावनी दिइसकेको छ । किनकि यी तत्वहरू उन्नत हतियार प्रणालीका लागि आवश्यक छन् । चीनलाई यो कुरा थाहा छ र उसले यसको उपयोग गर्‍यो । ट्रम्पले जस्तै हल्ला गरेर होइन, असरदार तरिकाले ।

साख बचाउने प्रयास ?
ट्रम्पका समर्थकहरू के भन्छन् भने अमेरिकाले चीनमाथिको निर्भरतालाई अष्ट्रेलिया, क्यानडा, मलेसिया र पाकिस्तानमा सार्न सक्छ, जसले हालै आफ्नो खनिज समृद्ध बलुचिस्तान प्रान्तलाई यसको खोजका लागि खोलेको छ ।

तर, वास्तविक समस्या खानी होइन, रिफाइनिङ हो । चीनको अतुलनीय प्रशोधन क्षमता नै उसको वास्तविक शक्ति हो । बाँकी देशहरूलाई यो स्तरमा पुग्न वर्षौं, सायद दशकौँ लाग्नेछ ।

हङकङका भू–राजनीतिक विश्लेषक हेई सिंग ताओको भनाइअनुसार सोलको बैठक ट्रम्पका लागि साख बचाउने प्रयास हो । उनले बीबीसीसँग भने, “यदि ट्रम्पले शिखर सम्मेलनअघि कुनै सम्झौता गर्न सकेनन् भने, यसले उनको साख र पार्टीमा नेतृत्वलाई प्रभावित गर्नेछ ।”

ताओको के विश्वास छ भने चीन अस्थायी रूपमा रेयर अर्थ निर्यातमा राहत र भटमास खरिद बढाउने प्रस्ताव गर्नेछ ताकि ट्रम्पले आफ्ना मतदाताहरूसामु केही देखाउन सकुन् ।

उनले चेतावनी दिँदै भने, “यो केवल केही समयका लागि र अस्थायी हो । ट्रम्प सधैँ आफ्नो कुरा बदल्छन्, यही नै उनको शैली हो । लामो समयसम्मको स्थिरता सम्भव छैन ।”

विश्लेषकहरूका अनुसार, दुवै पक्ष आ–आफ्नो घरेलु राजनीतिक दबाबहरूलाई ध्यानमा राख्दै कुराकानी गरिरहेका छन् । ट्रम्पलाई उनको पुनरागमन सफल भएको छ भन्ने देखाउनु छ ।

अर्कोतर्फ, सी चिनफिङले सुस्त अर्थतन्त्र र युवाहरूमा बेरोजगारीको दबाबका बीच नियन्त्रण, धैर्य र लचिलोपन देखाउनुपर्नेछ । व्यापार युद्ध रोक्ने दुवैको इच्छा सामरिक छ, न कि परिवर्तनकारी । प्राविधिक श्रेष्ठता, बजार नियन्त्रण र विश्वव्यापी प्रभावको वास्तविक लडाइँ जारी रहनेछ ।

बेइजिङका शोधकर्ता डेभिड चेनको भनाइ छ, “अमेरिकाले रक्षा र हाई–टेक उत्पादनका लागि रेयर अर्थसँग जोडिएको चीनमाथिको निर्भरतालाई लिएर तुरुन्तै केही गर्नुपर्नेछ । चीनको यो दबाब त केवल सुरुआत हो, वास्तविक संघर्ष प्रविधि र व्यापारलाई लिएर जारी रहनेछ ।”

महसुलका बाबजुद चीनको निर्यातमा बढोत्तरी
यो प्रतिस्पर्धाले पहिले नै विश्वव्यापी व्यापारलाई नयाँ रूप दिइरहेको छ । सन् २०२४ मा चीन–अमेरिका व्यापार लगभग ६५९ अर्ब डलर रह्यो, जुन अघिल्लो वर्षभन्दा थोरै बढी थियो । तर, आसियान देशहरूसँगको व्यापार सोही अवधिमा एक ट्रिलियन डलर पार गर्‍यो । युरोपेली संघ अब अमेरिकाभन्दा ठूलो व्यापारिक साझेदार बनिसकेको छ ।

हालको वर्षको पहिलो नौ महिनाको प्रवृत्तिले पनि यही देखाउँछ । महसुलका बाबजुद चीनको निर्यात बढिरहेको छ । यसको अर्थ के हो भने चीनमा लगाइएको महसुलको कुनै असर भएन । द्विपक्षीय व्यापारको सन्दर्भमा पनि चीनको निर्यात बढेको छ, जबकि अमेरिकी निर्यात स्थिर छ ।

ट्रम्पको पुनरागमनले व्यापार युद्धलाई भड्काए पनि यसले यसको सीमाहरू उजागर गरिदिएको छ । अमेरिकाले सजिलै नयाँ औद्योगिक इकोसिस्टम खडा गर्न सक्दैन । न त चीनले सरकारी सब्सिडी र निर्यातमा प्रभुत्वको माध्यमबाट विकासलाई सधैँ कायम राख्न सक्छ ।

विज्ञहरू अब यो प्रतिस्पर्धा कसले दबाबलाई कति धेरै सहन सक्छ र कसले छिटो तालमेल मिलाउन सक्छ भन्ने कुरामा निर्भर हुने बताउँछन् । अमेरिका महसुललाई एउटा हतियारको रूपमा प्रयोग गर्छ, जबकि चीन यसको जवाफ धैर्य र दृढताका साथ दिन्छ ।

चीनको विविधीकरण रणनीति ट्रम्पको महसुल युद्धभन्दा पहिलेको रहेको हङकङका विद्वान ताओ भन्छन् । उनी भन्छन्, “चीनले ट्रम्पभन्दा धेरै पहिले नै विविधीकरणलाई अपनाएको थियो । तर, ट्रम्पले यसलाई अझ तीव्र पार्नेछन् ।”

चीन अब दक्षिण–पूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकासँग व्यापारिक सम्बन्ध गहिरो बनाइरहेको छ, केही देशहरूलाई आर्थिक सहयोगमार्फत खरिदकर्ता बन्न मद्दत गरिरहेको छ । यो ढिलो प्रक्रिया हो, तर चीन यसमा माहिर छ ।

प्रारम्भिक अग्रता चीनको पक्षमा
सोलमा जब दुवै राष्ट्रपति भेट्नेछन्, तब तस्बिरहरू नतिजा जत्तिकै महत्त्वपूर्ण हुनेछन् । ट्रम्पको प्रसिद्ध मुस्कान र सी जिनपिङको संयमित अनुहारले बजारलाई स्थिरताको सन्देश दिनेछन् । तर, यो तस्बिरमुनि एक नाजुक सन्तुलन लुकेको हुनेछ ।

विज्ञहरूको के विश्वास छ भने दुवै पक्ष आफ्नो धारणामै परिवर्तन नभएर केवल समय पाउनका लागि झुकिरहेका छन् । महसुलमा तत्काल रोक लाग्न सक्छ, बयानबाजी नरम हुन सक्छ, तर संघर्ष जारी रहनेछ ।

अन्ततः दुवै पक्षका मानिसहरूलाई के थाहा छ भने यो व्यापार युद्ध अब महसुल वा व्यापार असन्तुलनको होइन । यो शक्तिको युद्ध हो । औद्योगिक, प्राविधिक र मनोवैज्ञानिक क्षेत्रहरूमा प्रभुत्वको युद्ध हो ।

प्रारम्भिक चरण चीनको पक्षमा हुन सक्छ । भाग्य पनि सी जिनपिङको साथमा छ । उनका पछिल्ला केही हप्ता धेरै राम्रा रहेका छन् । अमेरिकामाथि जवाफी हमलाका साथसाथै उनले भारतसँगको सम्बन्धमा सुधार देखाएका छन् । कोभिडपछि दुई देशबीचको उडानको बहाली पनि उनका उपलब्धिहरूमध्ये एक हो ।

तर, चीनका विज्ञहरू के भन्छन् भने अमेरिकासँगको लडाइँ अझै सकिएको छैन । यो वर्षौं, सायद दशकौँसम्म चल्नेछ, जसमा टकराव र सम्झौताका चरणहरू पालैपालो आउँदै रहनेछन् । अहिले के निश्चित छ भने ट्रम्प र सी चिनफिङ दुवैलाई जित होइन, तर व्यापार युद्धमा युद्धविराम चाहिएको छ ।

दुवैको तनावबाट दिक्क भएको विश्वले त्यसलाई पनि स्वीकार गर्नेछ । तर, प्रतिद्वन्द्वितामा अस्थायी रोकावट युद्धविराम जस्तै हुन्छ, जसले स्थायी शान्तिको ग्यारेन्टी दिन सक्दैन । बीबीसी

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  २३:१६
प्रतिक्रिया दिनुहोस्