site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सैद्धान्तिक अवधारणाका आधारमा पार्टी एकताका लागि तयार हुनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समान धारणा राख्ने कम्युनिस्ट घटकसँग पार्टी एकताका लागि पहल गर्न तयार रहनुपर्ने बताएका छन् । बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा उनले पार्टीको अवधारणा छाडेर भने एकता गर्न नसकिने बताएका हुन् ।

“पार्टीको दशौँ महाधिवेशनबाट पारित गरिएका दस्तावेजहरूमा नै हाम्रो धारणा स्पष्ट छ कि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (.....) नै हुनुपर्दछ, नेपाली क्रान्तिको जनवादी चरण पूरा भएको र मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको मान्नु पर्दछ, आम नेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबीचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्नु पर्दछ । पार्टी र क्रान्तिको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद मात्रै हुनुपर्दछ," प्रतिवेदनमा भनिएको छ ।

"पार्टीको सांगठनिक सिद्धान्त लेनिनवादी सांगठनिक सिद्धान्त नै हुनुपर्दछ, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्दछ, समाजवादी कार्यदिशा अंगाल्नु पर्दछ, नेपाली विशेषताको समाजवादी कार्यक्रम अङ्गीकार गर्नुपर्दछ र साम्राज्यवाद, प्रभुत्ववाद तथा नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रको विकास, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र आम जनताका हक अधिकारको पक्षमा दृढतापूर्वक खडा हुने र ससंर्ष गर्ने प्रतिबद्धता हुनुपर्दछ । यी अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्तैन, गरिँदैन,” नेपालले भनेका छन् ।

प्रतिवेदनमा अगाडि भनिएको छ, “यदि यी सबै कुरामा समान धारणा राख्ने कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना भएमा हामी नकारात्मक हुन पनि हुँदैन । यिनै सैद्धान्तिक अवधारणाका आधारमा पार्टी एकता गर्न सकिन्छ भने त्यसका लागि हामीले नै पहल गर्नु पर्दछ, त्यो जिम्मेवारी वहन गर्न हामी सदैव तत्पर रहनु पर्दछ ।”

माओवादी र एकीकृत समाजवादीबीच एकताका लागि छलफल भइरहेको छ । सोही विषयमा पार्टीभित्र मतभेद छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्