काठमाडौं । भारतको राजधानी दिल्लीमा मंगलबार क्लाउड सिडिङको दोस्रो चरणका तीनवटा ट्रायल गरिएको छ ।
दिल्लीका वातावरण मन्त्री मनजिन्दर सिंह सिरसाले ट्रायल गरेको बताएका छन् । उनले यी तीनवटै ट्रायलको नतिजा आईआईटी कानपुरले चाँडै जारी गर्ने बताए ।
यी ट्रायलहरू उत्तर–पश्चिम दिल्लीमा प्रयोगात्मक परीक्षणहरूको शृंखलाका लागि आईआईटी कानपुरसँग सेप्टेम्बर २५ मा हस्ताक्षर गरिएको समझौता पत्रका अंश थिए । यी परीक्षणहरूलाई नागरिक उड्डयन महानिर्देशनालयबाट अक्टोबर र नोभेम्बरको बीचमा सञ्चालन गर्न अनुमति दिइएको थियो ।
दिल्ली सरकारले मे ७ मा कुल ३.२१ करोड भारतीय रुपैयाँ लागतमा पाँचवटा क्लाउड सिडिङ ट्रायल गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।
क्लाउड सिडिङ एक वैज्ञानिक प्रविधि हो जुन बादलहरूमा सिल्भर आयोडाइड सोडियम क्लोराइड वा पोटासियम क्लोराइडजस्ता पदार्थहरू छरेर वर्षालाई उत्तेजित गर्न प्रयोग गरिन्छ । यी कणहरूले केन्द्रको रूपमा कार्य गर्छन्, जसको वरिपरि पानीका थोपाहरू जम्मा हुन सक्छन्, जसले गर्दा वर्षा हुने सम्भावना बढ्छ ।
वातावरण मन्त्री सिरसाले यसलाई ‘प्रदूषण न्यूनीकरणका लागि सरकारले चालेको एउटा विशाल कदम’ भनेका छन् । आगामी दिनमा थप ट्रायलहरू हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
‘क्लाउड सिडिङ’ दिल्लीको बाहिरी इलाका बुराडीबाट सुरु भई मयूर बिहारसम्म गरिएको बताए । मन्त्री सिरसाले मंगलबार यी तीनवटै ट्रायल बाहिरी दिल्लीका फरक–फरक इलाकाहरूमा गरिएको जानकारी दिए ।
क्लाउड सिडिङको मुख्य उद्देश्य दिल्लीको हावाको गुणस्तरमा सुधार ल्याउन कृत्रिम वर्षाको माध्यमबाट हावामा रहेको प्रदूषक तत्वहरूमा कमी ल्याउनु रहेको बताइएको छ ।
मन्त्री सिंह सिरसाले दिउँसो सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा आफ्नो भिडियो पोस्ट गरेका थिए । उनले भने, “यो क्लाउड सिडिङ आईआईटी कानपुरले ‘सेसना’ एयरक्राफ्टले गर्यो । एयरक्राफ्ट मेरठको दिशाबाट दिल्लीमा प्रवेश गर्यो र खेक्रा, बुराडी, नर्थ करोल बाग, मयूर विहार, सादकपुर र भोजपुरजस्ता इलाकाहरूमा क्लाउड सिडिङ गरियो ।”
उनले क्लाउड सिडिङमा आठवटा फ्लेयरहरू प्रयोग गरिएको बताए । उनले भने, “एउटा फ्लेयर दुईदेखि अढाई किलोको हुन्छ र यो दुईदेखि अढाई मिनेटसम्म चल्छ । यी फ्लेयरहरूमार्फत बादलहरूमा रसायनहरूको मिश्रण छोडिएको थियो । बादलमा १५ देखि २० प्रतिशत आद्र्रता थियो । यो प्रक्रिया करिब आधा घण्टा चल्यो ।”
कानपुरबाट दिल्ली पुग्न र यो सम्पूर्ण प्रक्रियामा करिब डेढ घण्टा लागेको थियो । अहिले विमान मेरठ पुगेको छ । यसै विमानबाट यो ट्रायलको दोस्रो र तेस्रो चरण पनि आजै सुरु हुने बताइएको छ ।
“आईआईटी कानपुरको के अनुमान छ भने १५ मिनेटदेखि चार घण्टाभित्र जुनसुकै बेला पनि वर्षा हुन सक्छ, तर यो ठूलो स्तरको हुने छैन,” उनले भने, “बादलभित्र चिस्यान कम छ । आईआईटी कानपुरको नतिजा राम्रो आउने आशा छ ।”
सिरसाले यदि यो ट्रायल सफल भएमा फेब्रुअरीसम्मका लागि दिल्लीमा क्लाउड सिडिङको योजना बनाइने बताए । न्युज १८