site stats
बाह्रखरी :: Baahrakhari
कला
कलाकारप्रति सामाजिक सञ्जालमा किन बढेको छ आक्रोश ?

काठमाडौं । ‘जेनजी’ आन्दोलनको रापताप सेलाउँदै जाँदा कलाकारप्रतिको आक्रोश बढ्दै गएको छ । जेनजी आन्दोलनको दोस्रो दिनको घटनामा जिम्मेवार रहेको भन्दै केही कलाकारको आलोचना भइरहेको छ । 

विशेष गरी निर्देशक कथा कलाकार निश्चल बस्नेत, कलाकार तथा निर्माता दीपकराज गिरी, निर्देशक अमनप्रताप अधिकारीको आलोचना गरिँदै छ । भदौ २४ गतेको उनीहरूका तस्बिर र भिडियो सार्वजनिक भएपछि आलोचना चुलिएको हो । उनीहरूलाई कारबाही गर्नुपर्ने कतिपयको माग छ ।

भएको के थियो ? 

भदौ २३ गते जेनजी पुस्ताले प्रदर्शन आह्वान गरेको थियो । सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र ‘नेपोबेबी’विरुद्ध प्रदर्शन आयोजना गरिएको थियो । राज्यले फेसबुकलगायत सामाजिक सञ्जाल निष्क्रिय गरेको थियो । टिकटकलगायत सामाजिक सञ्जालमार्फत कलाकारले उक्त प्रदर्शनमा सहभागी हुन आग्रह गरेका थिए ।

आफूहरू उमेरले जेनजी नभए पनि प्रदर्शनप्रति समर्थन रहेको कलाकारले बताएका थिए । सरकारका गलत कदमविरुद्ध आवाज उठाउन कलाकारले प्रेरित गरिरहेका थिए ।

भदौ २३ गते स्वयं आयोजकले सोचेको भन्दा ठूलो ‘मास’ भेला भयो । माइतीघरबाट अगाडि बढेको भीड नयाँ बानेश्वर चोक हुँदै संघीय संसद् भवनमा प्रवेश गर्‍यो । भीड अराजक भएको भन्दै प्रहरीले गोली चलाउँदा ठूलो संख्यामा हताहत भयो । उक्त दिन गोली लागेर १९ जनाको मृत्यु भएको सरकारी निकायले जानकारी दियो । 

त्यस दिन अपराह्नदेखि नै काठमाडौंलगायत केही जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी गरियो । सरकारले निहत्था बालबालिकामाथि गोली चलाएको भन्दै त्यसको भोलिपल्ट (भदौ २४) ठूलो संख्यामा भीड काठमाडौंलगायत देशका मुख्य सहरमा सडकमा उत्रियो ।

त्यही भीडमा थिए, केही कलाकार पनि । त्यही भीडमा रहेका कलाकारका तस्बिर र भिडियो अहिले बाहिर आइरहेको छ । र, तिनै भिडियोका कारण उनीहरूको आलोचना भइरहेको छ । 

भिडियो र प्रतिरक्षा 
सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको भदौ २४ गतेको भिडियोमा निश्चल बस्नेत संसद् भवनको छेउमा आन्दोलनकारीसँग छन् । राष्ट्रिय झन्डा काँधमा राखेका उनीसँग आन्दोलनकारीले ‘सेल्फी’ खिचिरहेका छन् ।

लामो कपाल र क्यापमा रहेका निश्चललाई देखेपछि प्रदर्शनकारी उत्साही हुँदै उनीसँग आन्दोलन र आगजनीका विषयमा प्रतिक्रिया माग्छन् । जलिरहेको संसद् भवनअगाडि उभिएर निश्चल भन्छन्, ‘यो नयाँ युगको सुरुआत हो । जेनजी पुस्ताले गरेर देखाएको छ । अहिलेसम्म कसैले गर्न नसकेको काम गरेर देखाएको छ । उनीहरूलाई धन्यवाद ।’ 

त्यसपछि पनि निश्चल केही बोलेको देखिन्छ । तर, भीडको होहल्लाले सुनिँदैन । उनी त्यहाँबाट निस्किन्छन् ।

सेलिब्रिटी भएर आन्दोलनकारीलाई उक्साएको भनेर टिप्पणी भइरहेका बेला निश्चलले भने यसको खण्डन गरेका छन् । आफूले ढुंगा हान्ने र आगजनी गर्ने काम नगरेको उनले बताएका छन् ।

“मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ स्पस्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु,” निश्चलले फेसबुकमा लेखेका छन्, “म आन्दोलनमा गएको हो ? हो ! भ्रष्टाचारको विरोध गरेको हो ? हो ! मसँग फोटो भिडियो खिच्न दाजुभाइ–दिदीबहिनी आएका हुन् ? हो !” 

भिडियोको माथि आफूअनुकूल क्याप्सन राखेर भ्रम छर्दै बस्नेलाई आफ्नो भन्नु केही नरहेको उनले उल्लेख छन् । आफूले आगजनी गरेको र कतै ढुंगा हानेको फोटो वा भिडियो प्रमाणस्वरूप कसैले देखाए जस्तोसुकै कारबाही भोग्न तयार रहेको उनले बताएका छन् ।

फोटो र प्रतिरक्षा
निश्चलको जस्तै गाली दीपकराज गिरीले पनि खाइरहेका छन् । उनको भने भिडियो होइन, तस्बिर ‘प्रमाणस्वरूप’ सामाजिक सञ्जालमा राखेर ‘यो के हो ?’ भनेर सोधिँदै छ । तस्बिरमा दीपक ढाकाटोपी, कालो चस्मा र मास्कमा देखिएका छन् । उनको छेउमा जलाइएको मोटरसाइकल देखिएको छ ।

यसबारे दीपकले प्रस्ट पार्ने प्रयास गरेका छन् । जेनजी प्रदर्शनमा आफ्नो समर्थन रहेको तर त्यही नै कमजोरी र दोष भए कारबाही भोग्न तयार रहेको उनले बताएका छन् । 

“सकेसम्म नबोलौँ भन्ने नै थियो । तर, धेरैले यो फोटो पठाएर सोध्नुभयो– दीपकजी, के यो तपाईं नै हो ? अब जिम्मेवार नागरिकको हिसाबले त बोल्नैपर्‍यो,” दीपकले फेसबुकमा लेखेका छन्, “पहिलो कुरा त के सत्य हो भने नेपालका हरेक परिवर्तनसम्बन्धी आन्दोलनलाई समर्थन गरेझैँ यसलाई पनि समर्थन गरेकै हो । यदि, त्यो अपराध हो भने अपराध त भयो नै ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही व्यक्तिले सर्वपक्षीय भेला रहेको भन्दै बोलाएपछि आफू बानेश्वर गएको र त्यहीँ कसैले हिँडिरहेका बेला फोटो खिचेको दीपकको दाबी छ ।

“त्यो दिन (भदौ २४) गणेश कार्की भाइले फोन गरेर सर्वपक्षीय सानो भेला छ बानेश्वरमा, कलाकारको रूपमा तपाईंहरू पनि आउनुस् भन्नुभयो । त्यसपछि म घरबाट हिँडे । त्यति बेला बाहिर सामान्य तोडफोड सुरु भइसकेको थियो,” दीपकले लेखेका छन्, “मेरो घरबाट बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर, कसको घर हो त्यो पनि थाहा थिएन । त्यहाँ केही रमिते केटाहरूले त्यो तोडफोड भइसकेको घर हेरिरहेका थिए । मलाई हात हल्लाए, फोटो पनि खिचिरहेकै थिए । भएको त त्यति नै थियो, तर अहिले त्यो बाटोमा हिँडिरहेको फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन् ।” 

आफू तोडफोडमा संलग्न नभएको उनले प्रस्ट पारेका छन् । भौतिक सम्पत्ति पनि हाम्रै भएको भन्दै तोडफोड गर्न नहुने भनेर भिडियो बनाएको आफूले बताएको उनले जनाएका छन् ।

“दोस्रो फोटो, त्यसपछि छलफलमा गइयो । व्यापक तोडफोड र आगजनी सुरु भयो । त्यसपछि हामीले तोडफोड नगरौँ भन्ने एउटा भिडियो पनि बनायौँ । त्यसपछि घर आएर निरन्तर तोडफोड नगरौँ, राष्ट्रको सम्पत्ति जोगाऔँ भन्ने स्ट्याटस हालिरहेँ,” दीपकले लेखेका छन्, “त्यो स्ट्याटसहरू साक्षीको रूपमा छँदै छन् । वास्तवमा त्यो आन्दोलन एउटा पाटो थियो र आगजनी र विध्वंस अर्को पाटो । त्यो दोस्रो पाटोमा चाहिँ दलहरूकै मान्छेलगायत अनेकौँ स्वार्थ समूह छिरेको त प्रमाणित नै भइसक्यो !”

अरूको जिम्मेवारी लिन नसक्ने तर आफू तोडफोडजस्ता अराजक गतिविधिमा सहभागी नभएको उनले बताएका छन् । “मेरो सवालमा चाहिँ, म कुनै समूहमा आबद्ध नभएको कलाकार हुँ । देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो सहभागिता छैन,” उनले लेखेका छन्, “यदि, प्रमाणित हुन्छ भने हदैसम्मको कारबाहीको लागि तयार छु ।”

उनले प्रत्यक्ष रूपमा भीडमा उभिएर आगजनी र तोडफोडका निम्ति उस्काएको देखिएको छैन । 

सबैभन्दा अराजक अभिव्यक्ति र भिडियो निर्देशक अमनप्रतापको छ । उनले आफैँले बनाएको भिडियो यति अराजक र असभ्य छ, परिवारसँग बसेर सुन्न सकिँदैन ।

उनले प्रयोग गरेका शब्द यति छाडा छन्, दोस्रो व्यक्तिसँग बसेर सुन्न सकिन्न । संघीय संसद् भवनमा रहेका उनले नेताहरूलाई हत्यारा भन्दै ‘तेरो देश सकियो’ भनेर छाडा शब्द प्रयोग गर्दैै गाली गरेका छन् ।

उनको भिडियो भाइरल भएपछि अमनप्रताप आफैँले पनि परिवारसँग बसेर सुन्न असहज लाग्ने स्वीकार गरेका छन् । अहिले सुन्दा असहज लागे पनि त्यो बेलाका निम्ति सान्दर्भिक रहेको उनको तर्क छ ।

उनले उक्त भिडियोप्रति अहिले पनि पश्चात्ताप नरहेको बताएका छन् । आफ्नै छोराछोरी उमेरका बालबालिकाको हत्या भएकाले आफूले तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको आक्रोशका रूपमा अपशब्द प्रयोग गरेको उनले बताएका छन् । उनले त्यसलाई आफ्नै आँखाअगाडि चार ‘छोराछोरी’माथि गोली हान्न आदेश दिनेविरुद्धको आक्रोशका रूपमा व्याख्या गरेका छन् ।

“अहिले बुवाआमा, दिदीबहिनी, छोराछोरीसँग बसेर सुन्दा त्यो अप्ठ्यारो लाग्छ, सुन्न नपरेको भए राम्रो हुन्थ्यो । मैले अपशब्द नै बोलेको छु, यसका लागि म धेरैधेरै माफी माग्छु, सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो,” अमनप्रतापले भनेका छन्, “तर, यो तपाईंहरूप्रति इंगित होइन । तर, मैले जोविरुद्ध अपशब्द बोलेको हुँ, मलाई अहिले पनि रिगरेट छैन ।”

संसद् भवन, सिंहदरबार, न्यायालय जलायो भन्नेहरूलाई एउटा पनि प्रमाण दिए आफू जेल जान तयार रहेको उनले बताएका छन् । कसैमाथि हातपात र ढुंगामुढा गरेको प्रमाण दिए आफू जेल जान तयार रहेको उनको भनाइ । भ्रष्टाचारविरुद्ध आफू लागिरहने उनले उल्लेख गरेका छन् ।

वर्तमान अन्तरिम सरकारको काम पनि सही नभएको भन्दै उनले ‘हत्याराहरू’लाई तत्काल पक्रन आग्रह गरेका छन् । उनीहरू भाग्न लागेका भन्दै उनले सरकारलाई सचेत गराएका छन् । उनले मान्छेको ज्यान र बिल्डिङ कहिल्यै बराबर हुन नसक्ने बताएका छन् । 

सामूहिक अपिल 
भदौ २४ गते सिंहदबार, संघीय संसद् भवन, सर्वोच्च, जिल्ला अदालतलगायत थुप्रै सरकारी र निजी संरचनामाथि आगजनी भइरहेको थियो । त्यही बेला निश्चल बस्नेत, दीपकराज गिरी, रास्वपाकी तत्कालीन नेतृ सुमना श्रेष्ठ, रास्वपा केन्द्रीय सदस्य गणेश कार्की, वैकल्पिक राजनीतिक शक्तिका अभियन्ता मिलन पाण्डेलगायत व्यक्तिहरूले एक संयुक्त भिडियो अपिल जारी गरे ।

भिडियोमा सुरुमा निर्देशक निश्चल बोल्छन् । उनले पुराना राजनीतिक दलका नेता, पार्टी जसले पटकपटक आश्वासन मात्र दिए, झुट बोलेर जनतालाई झुक्याइरहे – उनीहरूको धुवाँ भन्दै घर जलेर निस्किरहेको धुवाँतर्फ देखाउँछन् ।

तर, उनले भौतिक संरचना तपार्इं हाम्रै भएको भन्दै जलाउन नहुने बताएका छन् । आगजनी र तोडफोड रोक्न अपिल गरेका छन् । उनले पहिलो उपलब्धि जेनजी आन्दोलनले प्राप्त गरिसकेको भन्दै शान्तिका निम्ति अपिल गरेका छन् ।

दीपकराज गिरीले भौतिक संरचना जोगाउन आग्रह गरेका छन् । यस्तै आग्रह सँगै रहेकी सुमना श्रेष्ठले पनि गरेकी छन् । भोलिका दिनमा देशको नेतृत्व गर्न पनि सरकारी संरचना चाहिने भन्दै जोगाउन उनले आग्रह गरेकी छन् ।

कलाकारहरू जेनजी आन्दोलनका क्रममा स्वयं आगजनी र तोडफोडमा संलग्न थिए/थिएनन्, त्यो राज्यको अनुसन्धानले देखाउला । छानबिन आयोग गठन भइसकेको छ, त्यसले क–कसलाई दोषी ठहर गर्छ र कारबाहीको सिफारिस गर्छ, त्यो अबको केही समयपछि थाहा हुने नै छ ।

के भन्छन् कलाकार ?
कलाकारले सुरुमा जेनजीलाई प्रदर्शनका निम्ति उकासेको देखिन्छ । तर, त्यो अराजक भएर तोडफोड र आगजनीमा रूपान्तरण भएपछि त्यसको जिम्मेवारी लिन भने उनीहरू तयार देखिएनन् । नैतिक जिम्मेवारी लिन पनि उनीहरू तयार छैनन् । प्रमाण पेस गर्न चुनौती दिइरहेका छन् ।

सधैँ अरूलाई नैतिक जिम्मेवारीको प्रश्न उठाइरहने उनीहरू त्यही अवस्था आफूतिर आइपुग्दा तर्किरहेका छन् । कलाकार परिवर्तनको संवाहक भएकाले त्यसको पक्षधर हुुनु स्वाभाविक रहेको तर संयमित हुनुपर्ने एक कलाकार बताउँछन् । 

“पहिलो विषय त कलाकारले कुनै राजनीतिक दलको फेर समात्ने कि नसमात्ने भन्ने मुख्य पक्ष हो । तर, राजनीतिक गर्नै पाइँदैन कलाकारले भन्ने पनि होइन,” निर्देशक तथा लेखक समेत रहेका ती कलाकार भन्छन्, “यदि, आन्दोलनमा सरिक नै हुने हो भने संयमित पनि हुन सक्नुपर्छ । आफू को हुँ र म कुन क्षेत्रमा छु भन्ने पनि भुल्न हुँदैन ।”

कलाकारले परिवतर्नका निम्ति योगदान गर्न सक्छन् । यो दायित्व पनि भएको तर यसका विभिन्न माध्यम रहेको ती कलाकारको धारणा छ ।

“म आफैँमा पनि भ्रष्टाचारविरुद्ध आक्रोश थियो । जसरी अहिलेका दल र नेताहरूको मनोमानी थियो, यसको साइज डाउन त गर्नैपर्ने थियो,” ती निर्देशक तथा कलाकार भन्छन्, “हामी कलाकारले आफ्नो माध्यमबाट भन्ने हो । म भएको भए सायद चलचित्रमार्फत नै भन्थेँ होला ।”

अर्का एक निर्देशक धेरै नागरिकलाई प्रभावित पार्न सक्ने सेलिब्रिटीले के गर्ने/नगर्ने र बोल्ने/नबोल्ने भन्नेमा सजग हुनुपर्नेमा जोड दिन्छन् ।

“कलाकार इन्फ्लुएन्सर पनि भएकाले कहाँ कसरी प्रस्तुत हुने भन्नेमा १० पटक सोच्नुपर्छ । मेरो आह्वानका कारण कति नागरिक आन्दोलनमा आए होला भनेर सोच्ने हो भने नैतिक जिम्मेवारीको कुरा आउँछ,” ती निर्देशक भन्छन्, “आफू तोडफोड र आगजनीमा संलग्न नभए पनि आह्वान गरेकाले नैतिक जिम्मेवारी लिने कि नलिने भन्नेचाहिँ व्यक्तिको विवेकको कुरा हो ।”

अरूलाई सवाल गर्ने जोकोहीले आफूमाथि गम्भीर प्रश्न उठाइँदा त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने ती निर्देशकको धारणा छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्