काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकसहितको राहदानी रोक्का तथा स्थानहद तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिटमाथि अध्ययन सकिएर दर्ता हुने तय भएको छ । तर, निवेदक अधिवक्ता सिलवालको अनुपस्थितिले रिट दर्ता भइसकेको छैन ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको निर्णयअनुसार, ओलीसहित पाँचजनाको राहदानी रोक्कासहित काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी आदेश जारी भएको छ । स्थानहद तोक्दै राहदानी रोक्का गरिएकाहरूमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक तथा तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजाल छन् ।
स्थानहद तोक्नु गैरकानुनी र औचित्यहिन रहेको भन्दै मंगलबार सर्वोच्च अदालतमा उनले रिट निवेदन पेस गरेका हुन् । रिट निवेदनमाथि अध्ययन सकेर दर्ता हुने निष्कर्षमा अदालत प्रशासन पुगे पनि निवेदक नभेटिएकाले दर्ता नभएको सर्वोच्चका एक अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।