काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन हुने बताएका छन् । भ्रातृसंगठन नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार (कात्तिक १०) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले यसबारे स्पष्ट पारेका हुन् ।
महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिरहेका उनले उल्लेख गरे । उनले नियमित महाधिवेशनमार्फत नै समस्याको समाधान हुने तर्क गरे ।
पार्टीको चालु केन्द्रीय कार्यसमिति बैठकबाट मुलुकलाई निकास दिने गरी विधानानुसार सबै निर्णय लिइने उनले बताए । पार्टीभित्रको एकतामा जोड दिँदै उनले कांग्रेसले विगतमा जस्तै मुलुकलाई अघि बढाउन मियोको रूपमा भूमिका खेल्ने गरी आवश्यक निर्णय लिइने उल्लेख गरे ।
कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र एक ठाउँमा उभिनुपर्ने बेला आएको समेत बताए ।
कार्यक्रममा पूर्णबहादुर खड्काको भनाइ पढ्नोस्–
हामी नेपाली कांग्रेसको चालु केन्द्रीय कार्यसमितिको बैठकबाट नेपाली कांग्रेसको नियमित पार्टीको विधानानुसारको निर्णय, मुलुकको यो सबै परिदृश्यमा देखिएका सबै राजनीतिक घटनाक्रमहरूमा हाम्रो उत्तरदायित्व, हाम्रो जिम्मेवारी, सबै दलहरूसँग हामीले मिलेर जाने हाम्रो विगतजस्तै प्रतिबद्धता, संविधान रक्षाको प्रतिबद्धता र हामीले लिनुपर्ने तमाम जिम्मेवारीपूर्वकका निर्णयहरू हामी एकताबद्ध भएर केन्द्रीय कार्यसमितिको बैठकबाट सम्पन्न गर्नेछौँ । म त्यो तपाईंहरूमार्फत सिंगो देशका नेपाली कांग्रेसका नेताहरू, शुभेच्छुकहरू, क्रियाशील सदस्यहरू, सम्पूर्ण भ्रातृसंस्थाहरू र नेपालको लोकतान्त्रिक, प्रजातान्त्रिक आन्दोलनप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति विश्वास गर्ने सिंगो जनमतप्रति, हाम्रा आदरणीय मतदाताप्रति, नागरिकप्रति म त्यो विश्वास नेपाली कांग्रेसका सम्पूर्ण नेताहरूको तर्फबाट, केन्द्रीय कार्यसमितिको तर्फबाट आजको यो क्षणमा दिलाउन चाहन्छु । त्यही एकताको भावबाट, त्यही समीक्षाको भावबाट निकालिएको निष्कर्षको आधारमा हामी चालु केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णयहरू गर्नेछौँ । जति पनि विषयहरू हामीले अगाडि सारेका छौँ, ती सबै विषयहरूमा छलफल व्यापक चलिरहेको छ । विमर्श चलिरहेको छ । सबै नेताहरूले आ–आफ्नो तरिकाले आफूलाई लागेको कुरा खुलस्त भन्नुभएको छ । भन्ने क्रम जारी छ । ती सबै विचारहरू, दृष्टिकोणहरू, फरक–फरक कोण र जोडहरूलाई एक ठाउँमा जोडेर हामी चालु केन्द्रीय कार्यसमितिको बैठकबाट घोषणा भएको निर्वाचन, हाम्रो पार्टीको नियमित अधिवेशन, भ्रातृसंस्थाहरूको चालु रहेका अधिवेशन सबै विषयहरूलाई अगाडि राखेर पार्टीका महाधिवेशन प्रतिनिधिहरूले प्रस्तुत गरेका विशेष महाधिवेशनको प्रस्तावलाई पनि समाधान नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी सम्पूर्ण एकता, बृहत् एकता, नेपाली कांग्रेसका अगाडि आएको चुनौती र सँगसँगै आएको अवसर नेपालको राजनीतिमा फेरि नेपाली कांग्रेसले मियोको रूपमा, यो प्रतिकूलताबाट जलेको देशको खरानीमा रूपान्तरण भएको पार्टीका साथीहरूको सम्पत्ति, व्यापार–व्यवसायमा भएको क्षतिलगायत सम्पूर्ण प्रतिकूलतालाई अनुकूलतामा बदल्नका लागि फेरि नेपाली कांग्रेसमाथि विश्वास गर्ने अवस्थाको सिर्जना गर्ने र मुलुकको अहिलेको परिस्थितिलाई समाधान गर्दै राष्ट्रिय एकता, संविधानको रक्षा, सबै दल, सिंगो नागरिक समाज, सञ्चारजगत् सबैलाई एक ठाउँमा उभिने परिस्थितिको निर्माण गर्ने त्यो विश्वास जगाउने गरी केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत निर्णय गराउनेछौँ । न्युज एजेन्सी नेपाल