site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा सेना तैनाथ गर्ने राष्ट्रको छनोट अधिकार इजरायलसँग सुरक्षित : नेतान्याहू
बेन्जामिन नेतान्याहू । फाइल तस्बिर : एजेन्सी ।

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा तैनाथ गरिने बहुर्राष्ट्रिय सेनामा समावेश हुने राष्ट्रको छनोट गर्ने अधिकार इजरायलसँग सुरक्षित रहने बताएका छन् । इजरायलले गाजामा टर्कीको भूमिकालाई पहिले नै अस्वीकार गरिसकेको छ ।

इजरायली सेनाले शनिबार–आइतबार राति युद्धविराम भंग गर्दै गाजापट्टीको मध्यभागमा ड्रोन आक्रमण गरी एक व्यक्तिको हत्या गरेको छ । यसमा इजरायली सेनामाथि आक्रमणको योजनामा संलग्न इस्लामिक जिहाद समूहका प्रमुख कमान्डर मारिएको जनाइएको छ ।

इस्लामिक जिहाद गाजामा हमासपछि दोस्रो प्रमुख सशस्त्र संगठन हो ।

शान्ति सम्झौताअनुसार, हमासले २८ मृत इजरायली बन्धकमध्ये १५ शव इजरायललाई सुम्पिसकेको छ । गाजामा बाँकी शवको खोजीकार्य जारी छ ।

हमासले यो कार्य इजिप्टको सहयोगमा गरिरहेको छ । यसमा मेसिनको प्रयोग गरी भग्नावशेषमा पुरिएका शव बाहिर निकालिँदै छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बाँकी बन्धकको शव फिर्ता गर्नका निम्ति ४८ घण्टाको समय दिएका छन् । त्यसपछि शान्ति योजनाको दोस्रो चरणमा काम सुरु हुने र हमासले हतियार र गाजाको सत्ता छाड्नुपर्नेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्