काठमाडौं । सधैँ टुटफुट–गुटवादमा रमाउँदै आएका कम्युनिष्ट दलहरूबीच फेरि एकता हुने विषयले अचेल सर्वत्र चर्चा बटुलेको छ । विशेषगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकताको चर्चा चुलिएको छ ।
साथै कम्युनिस्ट विचारधारा बोक्ने अन्य दलहरूसँग पनि एकताको चर्चा उत्कर्षमै छ । तर, के वाम एकता आजभोलि नै सम्भव छ त ? भन्ने प्रश्न पनि उब्जिएकै छ ।
बारम्बार विभाजनबाट गुज्रिएका वामपन्थीहरु तैपनि एकता गरेर स्थिर, एकीकृत र जिम्मेवार देखाउन फेरि जुट्ने प्रयासमा छन् ।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले तोकेको निर्वाचनमा होमिँदा एकता भएमा मत एकै ठाउँमा केन्द्रित हुने र ठूला दलहरूसँग प्रतिस्पर्धा गर्न सजिलो हुने आशमा पनि एकताको कसरतमा कम्युनिस्ट पार्टी जुटेका हुन् ।
कात्तिक ७ गते शुक्रबार माओवादी केन्द्रको महाधिवेशन संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एकताका लागि सघन छलफल भइरहेको जनाए । तर उनी एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले स्पष्ट पारेको थियो ।
सचिवालयले भनेको थियो, “केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकताबमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूमाझ नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरूमा घनिभूत छलफल जारी छ । यद्यपि कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन ।”
माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि एकताका विषयमा घनिभूत छलफल भइरहेको जानकारी दिए । तर उनी बाहिर आएजस्तो एकतापछि बन्ने पार्टीको नाम, सांगठनिक विषयलगायतमा टुंगो नलागेको बताउँछन् ।
उनले बाह्रखरीसित भने, “एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा नेपाल, प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीसँग एकताका विषयमा छलफल भइरहेको छ । तर एकताको विषय अझै टुंगोमा पुगेको छैन ।”
माओवादीकै महाधिवेशन आयोजक समिति सदस्य मनऋषि धितालका अनुसार, एकता गर्नेमा सहमति भए पनि संख्या, तल्लो तहका कार्यकर्ता र समर्थकका विषयमा अझै छलफल भइरहेको छ । चुनावमा जाने रणनीति त छदैँ नै छ । नेताबीचको एकतामात्र भएर हुँदैन ।”
धितालले भने, “माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको ट्रेन्ड, टेन्डेन्सी एमालेसँग मेल खान्छ । एमालेसँग गरिएको एकता र अब हुने एकतामा फरकपन हुनुपर्छ ।”
माओवादीका महाधिवेशन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने छठपछि वामपन्थी एकता हुने बताउँदै आएका छन् ।
एकता प्रिय तर के का लागि ?
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले माओवादीसँगको एकताको विषयमा असहमति जनाइसकेका छन् ।
महासचिव भुसालले बाह्रखरीसित भने, “एकता, हाम्रा लागि एकदमै प्रिय शब्द हो । तर केका लागि र किन गर्ने ? एकता सबै वामपन्थी पार्टी एक ठाउँमा आउने प्रमुख आधार हो । मेरो भनाइ चाहिँ पुनर्गठन गरौँ अनि अघि बढौँ भन्ने हो ।”
उनले थपे, “पछिल्लो समयको राजनीतिमा समस्या नै मुख्य नेता हुन् । हालसम्मको प्रयोग, अभ्यास र नेतृत्व असफल भएको दुनियाले देखेका छन् । प्रमुख नेताहरूले राजीनामा दिनुपर्छ । राजनीतिमा गरिएका अभ्यासको पुनर्मूल्यांकन हुनुपर्छ । अनि मात्र कार्यगत एकता गरेर अघि बढ्न सकिन्छ ।”
एकतामा जोडिएका कम्युनिस्ट पार्टीका नेताको भनाइ अनुसार, तत्काल एकता भइहाल्ने कुनै सम्भावना छैन । विभाजित हुँदा मत विभाजन हुने र चुनावमा शक्ति घट्ने त्रासले पनि कम्युनिस्ट पार्टी एकताका लागि लालायित बनेका छन् ।
विप्लव ठहर : एकताको आधार बनिसकेको छैन
कुनै बेला माओवादीकै नेता थिए, नेत्रविक्रम चन्द । तर, नेतृत्वप्रति विमति राख्दै छुट्टै कम्युनिष्ट पार्टी बनाए । उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पनि एकताका लागि सहमति गरिसकेको छ, माओवादीले । उक्त पार्टीको तत्कालीन स्थायी समिति बैठकले नै एकताका लागि निर्णय गरिसकेको छ ।
नेकपाको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव विप्लवले कात्तिक २ गते आइतबार भनेका थिए, “सरकारमा पुगिसक्नुभएका, कुनै न कुनै ढङ्गले मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका होइन कि नयाँ पुस्तासहित पुराना नेताले मार्ग प्रशस्त गर्दै संरक्षकको भूमिका पूरा गर्नुपर्छ, अब कम्युनिस्ट आन्दोलनको वातावरण बनाउनुपर्छ ।”
उनले भने, “श्रम गर्न, अध्ययन गर्न, सिर्जनशील बन्न सकोस्, जनताको सेवामा लाग्न सकोस्, निष्कलङ्क रूपमा जनताको सेवामा लाग्न सक्ने आन्दोलन निर्माण गर्न सकोस् र देशलाई बचाउने दायित्व लिन सकोस् । त्यस्तो प्रकारको कम्युनिस्ट आन्दोलन फेरि निर्माण गर्नुपर्छ ।”
उनले भने, “कुनै बेलामा थियो तर त्यो भत्किएको छ । भत्किएको ठाउँबाट अमूर्त पात्रले दाबी गर्ने र जनताले विश्वास गरिहाल्ने आधार बनेको छैन । कम्युनिस्ट आन्दोलनलाई नयाँ आधारमा पुनर्संगठित गरेर साँच्चै नै एउटा मूल्य मान्यतासहितको कम्युनिस्ट आन्दोलन निर्माण गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो ।”
सबै कम्युनिस्ट पार्टीले नयाँ ढङ्गबाट कम्युनिस्ट आन्दोलनको शुरुआत गर्ने बहस अघि बढाउनुपर्ने पनि उनले बताए । तर, इतिहासको एकताले सकारात्मक नजिर स्थापित गरेको छैन । त्यसैले पनि वामपन्थी दलहरू अझै अलमलमा छन् ।
