काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार देशले अद्वितीय परमाणु इन्जिनले सुसज्जित क्रुज मिसाइल ‘बुरेवेस्तनिक’को सफल परीक्षण गरेको घोषणा गरेका छन् । यो मिसाइल यति शक्तिशाली रहेको बताइएको छ कि यसको दायरा प्रायः असीमित छ ।
पुटिनले यो परीक्षणपछि रुसी सेनालाई उक्त मिसाइलको तैनाथीका लागि आवश्यक पूर्वाधार निर्माणको तयारी सुरु गर्न आदेश दिएका छन् ।
टेलिभिजनमा प्रसारित बैठकमा पुटिनले आफ्ना रक्षा प्रमुखहरूसँग छलफल गरेका थिए । हालै परमाणु सैन्य बलहरूको अभ्यासका क्रममा यो मिसाइलको परीक्षण गरिएको थियो । उनका अनुसार, ‘बुरेवेस्तनिक’ १५ घण्टासम्म हावामा रहेर यो अवधिमा १४ हजार किलोमिटर दुरी तय गरेको थियो ।
पुटिनले यस उपलब्धिलाई रूसको सैन्य प्रविधिको ऐतिहासिक सफलता बताए । उनको भनाइमा, यो मिसाइलको दायरा र क्षमताले विश्वका कुनै पनि विद्यमान मिसाइल रक्षा प्रणालीलाई चुनौती दिन सक्छ ।
‘बुरेवेस्तनिक’लाई यस्तो प्रकारले डिजाइन गरिएको छ कि यो पारम्परिक टर्बोजेट इन्जिन भएका मिसाइलहरूभन्दा धेरै टाढासम्म उडान गर्न सक्षम छ । यसको इन्जिनमा एक सूक्ष्म परमाणु रिएक्टर जडान गरिएको छ, जसले हावालाई अत्यधिक तातो बनाएर अगाडि दिशातर्फ जोडदार थ्रस्ट उत्पन्न गर्छ । त्यस कारण यो मिसाइल ५० देखि १०० मिटरको अत्यन्त कम उचाइमा उड्न सक्छ, जसले गर्दा यसलाई रडार प्रणालीले पत्ता लगाउन कठिन हुन्छ ।
रिपोर्टहरूका अनुसार, यो मिसाइल लक्ष्यमा प्रहार गर्नुअघि घण्टौँ वा दिनौँसम्म हावामा रहन सक्छ र एकै समयमा धेरै स्थानहरूमा प्रहार गर्न सक्षम छ ।
यस मिसाइलमा परमाणु वारहेड बोक्ने क्षमता पनि रहेको बताइएको छ । यसको अधिकतम सम्भावित दायरा २० हजार किलोमिटरसम्म हुनसक्ने अनुमान छ । जसको अर्थ, यो रूसबाट उडाएर अमेरिकासम्म पुग्न सक्छ ।
विज्ञहरूको भनाइमा, यदि यो पूर्ण रूपमा सञ्चालनमा ल्याइएमारूससँग यस्तो हतियार हुनेछ, जसले पारम्परिक मिसाइल रक्षा संयन्त्रलाई निष्प्रभावी बनाउन सक्छ । तर, यस मिसाइलका केही पछिल्ला परीक्षणहरू असफल भएका थिए । र, सन् २०१९ मा भएको एक दुर्घटनामा पाँच वैज्ञानिकको मृत्यु समेत भएको थियो ।
रूसको यो कदमले विश्वव्यापी शक्ति सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्न सक्ने विज्ञहरूको विश्वास छ । परमाणु इन्जिनयुक्त मिसाइलहरूको प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय तनाव अझ बढ्न सक्ने देखिन्छ । अमेरिका र नेटो देशहरूको नजर अहिले यस परीक्षणमाथि केन्द्रित छ ।
यता, पुटिनले स्पष्ट रूपमा रूस कसैलाई धम्क्याइरहेको होइन, बरु आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि सक्षम हतियार प्रणाली विकास गरिरहेको बताएका छन् । उनले योरूस भविष्यमा यस्ता प्रविधिहरूमा निरन्तर काम गर्दै रणनीतिक सन्तुलनलाई आफ्नो पक्षमा कायम राख्ने पनि बताए । बीबीसी