काठमाडौं । नेपालमा ‘जेक्टोर’ नामक सामाजिक डिजिटल प्लेटफर्म ल्याइने भएको छ ।
कम्पनीले यसलाई व्यवहार ट्रयाकिङ नगर्ने तथा प्रयोगकर्ताकेन्द्रित सुरक्षा संरचनामा आधारित ‘स्वतन्त्रता डिजाइन गरिएको प्लेटफर्म’का रूपमा प्रस्तुत गरेको छ । सार्वजनिकअघि दर्ता प्रक्रियामा रहेको कम्पनी प्रतिनिधिले जनाएका छन् ।
दुई दशकदेखि अमेरिकी र चिनियाँ ठूला प्राविधिक कम्पनीले दक्षिण एसियालाई ठूलो उपभोक्ता बजार र डाटा स्रोतका रूपमा उपयोग गर्दै आएको आलोचनाबीच जेक्टोरले प्रयोगकर्ताको निजी जीवन र मर्यादा प्राथमिकतामा राखिएको जनाएको छ ।
प्रतिनिधिका अनुसार, प्लेटफर्ममा ट्रयाकिङ, प्रोफाइलिङ, व्यवहारगत डाटा संकलन, अल्गोरिद्मिक दबाब तथा व्यवहार–आधारित तथ्यांक संकलन गरिने छैन । प्रयोगकर्ताले चाहेको सामग्री मात्र हेर्न सक्ने संरचना तयार गरिएको छ ।
जेक्टोरले ‘जिरो बिहेवियर ट्रयाकिङ मोडल’ र ‘जिरो नलेज संरचना’ नै प्लेटफर्मको मूल आधार रहेको जनाएको छ ।
कम्पनीका अनुसार, जिरो नलेज प्रविधिअन्तर्गत सबै व्यक्तिगत सन्देश, मिडिया तथा गतिविधि यति कडा इनक्रिप्टेड हुन्छन्, जसमा प्लेटफर्म स्वयंको पनि पहुँच पुग्दैन । मुख्य धारका कुनै सामाजिक सञ्जालले यस्तो प्रविधि नअपनाएको कम्पनीको दाबी छ ।
महिलाको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै फोटो/भिडियो डाउनलोड गर्न नपाइने, नग्नता वा हानिकारक सामग्री पहिचान गरी एआईले तुरुन्तै रोक्ने तथा ठगी वा ब्ल्याकमेलिङ चेनलाई संरचनागत रूपमा अवरुद्ध गर्ने सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।
सन्देसिङ, नेटवर्किङ, इनक्रिप्टेड भिडियो, निजी भल्ट, क्रिएटर इकोसिस्टम, सामुदायिक स्पेस, एआई मोडरेसन, स्थानीय प्रवृत्ति अन्वेषणदेखि आउँदो आर्थिक तहसम्मका सुविधा एउटै सुरक्षित संरचनाभित्र राखिएको कम्पनीले जनाएको छ ।
दर्ता प्रक्रिया सकाएर एक महिनाभित्र प्लेटफर्म सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।