विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकाले चुनाव हुन नसक्ने दाबी गरेका छन् ।
“प्रहरीका कार्यालय जलेका छन्, सवारीसाधन जलेका छन् । के प्रहरीले साइकल र घोडामा चढेर शान्ति–सुरक्षा दिन सक्छ ?,” कार्कीको प्रश्न छ ।
धनकुटामा नेकपा (एमाले)ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकारले चुनावको वातावरण बनाउन नसकेको आरोप लगाए । उनले भने, “पुलिसको गोलीगठ्ठा र हतियार खोसिएका छन्, बर्दी खोसिएका छन्, ती अहिलेसम्म फिर्ता भएका छैनन् । यस्तो अवस्थामा कसरी शान्ति–सुरक्षाको व्यवस्था र चुनाव सम्भव हुन्छ ?”
उनले गौरीबहादुर कार्कीको छवि विवादित रहेकोले उनको नेतृत्वमा रहेको समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै सर्वस्वीकार्य सक्ने समिति बने मात्र एमालेले त्यसलाई मान्यता दिने बताए ।
एमाले चुनावदेखि नभाग्ने बताउँदै उनले भने, “संविधानलाई बाइपास गरेर बनेको सरकारले चुनाव गर्न सक्दैन । अब संसद् पुनर्स्थापना गरेर सबै पक्षलाई समेटेर मात्र नयाँ सरकार गठन गरी चुनावमा जानुपर्छ ।”
उनले आन्दोलनमार्फत साम्राज्यवादी शक्तिहरू सल्बलाउन थालेको र तिनको उपस्थिति नेपालमा देखाउन खोजिएको टिप्पणी गरे ।
“‘जेनजी आन्दोलनको नाममा कतिपय तत्वहरूले विद्रोह र विध्वंश मच्चाउन खोजिरहेका छन्, ती विस्तारै सार्वजनिक हुँदै जानेछन् र उनीहरूको वास्तविक उद्देश्य पनि जनताले बुझ्नेछन्,” मुख्यमन्त्री कार्कीले भने ।
एमालेले कात्तिक १५ गते धनकुटाबाट देशव्यापी जनप्रदर्शन सुरु गर्ने जानकारी दिए ।