site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संस्थापनको तयारी : विशेष वा नियमित चुनावपछि मात्र महाधिवेशन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले चुनावअघि महाधिवेशन नगर्ने रणनीति बनाएको छ । शनिबार (कात्तिक ८) सिद्धार्थ कटेज धोबीघाटमा बसेको संस्थापन पक्षको बैठकले विशेष वा नियमित जुनसुकै महाधिवेशन गरे पनि पार्टीभित्र द्वन्द्वको वातावरण कायम रहने भन्दै चुनावअघि कुनै पनि प्रकारको महाधिवेशनमा नजाने निष्कर्ष निकालेको हो । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कात्तिक १२ गते दिउँसो १ बजेका लागि संस्थापन पक्षका पदाधिकारी र सदस्यहरूलाई बैठकमा डाकेका छन् । उनीहरूले अहिलेको प्राथमिकता राष्ट्रिय निर्वाचन भएको भन्दै त्यसका लागि आवश्यक काम पार्टी एकताबद्ध भएर गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । 

राष्ट्रिय निर्वाचनमा केन्द्रित हुनकै लागि विशेष महाधिवेशनका लागि गरिएका हस्ताक्षरहरू फिर्ता लिने र निर्वाचनपछि नियमित महाधिवेशन गर्नका लागि केन्द्रीय समितिलाई ‘कन्भिन्स’ गर्ने पनि उनीहरूको तयारी छ । 

“देशमा निर्वाचन घोषणा भइसकेको छ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वदायी भूमिका फर्काउन निर्वाचन नै सबैभन्दा उत्तम माध्यम भएकोले हामी अब सम्पूर्ण रूपमा निर्वाचनको तयारीमा लाग्ने हो,” सहमहामन्त्री महेन्द्र यादवले बाह्रखरीसँग भने, “यसका लागि पार्टी आन्तरिक प्रतिस्पर्धामा होइन एकताबद्ध भएर निर्वाचनको तयारीमा लाग्नुपर्छ । यो तथ्यलाई स्वीकार गर्दै सबैले निर्वाचनको तयारीमा जुट्ने निर्णयमा समर्थन जनाउनुहुनेछ ।”

सहमहामन्त्री यादवले यही निष्कर्षका आधारमा जारी केन्द्रीय समिति बैठकले एकताबद्ध भएर निर्वाचनको तयारीमा लाग्ने निर्णय गर्ने दाबी गरे । सभापति शेरबहादुर देउवाले कार्यभार दिएर पार्टी चलाउने जिम्मेवारी दिइसकेपछि विशेष महाधिवेशनको औचित्य पनि समाप्त भइसकेको बताए । 

“विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भनिएको थियो । सभापति शेरबहादुर देउवाले त पार्टी राम्रोसँग चलाउनुस् भनेर धन्यवाद दिएर गइसक्नुभएको छ,” यादवले भने, “नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको सिद्धान्तै छोडेर नयाँ सिद्धान्त अवलम्बन गर्ने त होइन होला । त्यसो भएपछि विशेष महाधिवेशनको औचित्य हालका लागि समाप्त भएको छ ।”

बैठकमा नेता कृष्णप्रसाद सिटौलाले पार्टी पार्टीको राष्ट्रिय हैसियत महाधिवेशनले नभएर निर्वाचनले निर्धारण गर्ने भन्दै निर्वाचनपछि मात्र महाधिवेशनमा जानुपर्ने बताएका थिए । उनले एकताबद्ध भएर निर्वाचनमा गएर पहिलो पार्टी बनेमा त्यसपछि पार्टीको आन्तरिक प्रतिस्पर्धाको पनि महत्त्व बढेर जाने तर्क गरेका थिए । 

सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले सदस्यता व्यवस्थापनको काम सकेर  मंसिरमै वडा अधिवेशन सुरु गर्दा उपयुक्त हुने बताइन् । विशेष महाधिवेशनको आवश्यकता नरहेको भन्दै उनले जति सक्दो चाँडो सदस्यता व्यवस्थापनको काम सकेर निर्वाचनलाई नकारात्मक प्रभाव नपर्ने गरी नियमित महाधिवेशन गर्नुपर्ने तर्क गरिन् । सभापति देउवाकै अध्यक्षतामा महाधिवेशन गर्नु प्राकृतिक, नैतिक र स्वाभाविक हुने भन्दै  त्यसका लागि प्रमुख पदाधिकारीहरूको समन्वयकारी भूमिका आवश्यक हुने बताइन् ।

“अहिलेको आवश्यकता नेतृत्वबाट शेरबहादुरलाई हटाउने मात्र होइन । हामी सबै पदाधिकारीहरूले महाधिवेशनबाट अनुमोदित हुने वा बिदा लिने विकल्प रोज्नुपर्छ,” उपाध्यायले बाह्रखरीसँग भनिन्, “त्यसका लागि पहिला सदस्यता व्यवस्थापन सक्नुपर्‍यो । त्यसपछि चरणबद्ध अधिवेशनमा जानुपर्छ ।”  

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्