site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘जेनजी’ प्रतिनिधिको चेतावनी– सरकारले दमन गर्‍यो, हामी सहँदैनौँ

काठमाडौं । ‘जेनजी’ प्रतिनिधिले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । शनिबार (कात्तिक ८) काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका निम्ति भेला भएका जेनजीलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारविरुद्ध खनिएका हुन् ।

शनिबार अपराह्न पत्रकार सम्मेलन गरी उनीहरूले जेनजीलाई एकताबद्ध गराउने अभियानमा जुटेकालाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

शान्तिपूर्ण रूपमा भेला भएका जेनजीलाई पक्राउ गरिएकाले तत्काल उनीहरूलाई नछाडिए कडा कदम चाल्न आफूहरू बाध्य हुने प्रतिनिधि मञ्जना राईले चेतावनी दिइन् । उनले जेनजीले बनाएको सरकारले उनीहरूका मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन् ।

राईले भनिन्, “अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ । हामी पछि हट्ने छैनौँ, यही चेतावनी दिन चाहन्छौँ । थुनिएका साथीहरू रिहाइ नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ ।” 

उनीहरूले सरकारले आफूहरूमाथि दमन गरेको भन्दै सैह्य नहुने चतावनी दिए । भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले सरकारको दमनकारी नीतिविरुद्ध लाग्न सबैलाई आह्वान गरे ।

“हामीलाई युनिफाइड पनि हुन नदिने, यो कस्तो सरकार हो ? युनिफिकेसनको क्याम्पियन पनि रोक्नुपर्ने ? अब अहँ हुँदैन । जे जे गर्नुपर्छ, हाम्रो मागहरू छिटो पूरा हुनुपर्छ,” उनले भने, “सरकारले केही गर्दैन, हाम्रो साथीहरूलाई यसरी दमन गरिन्छ भने हामी सहँदैनौँ ।”

जेनजी आन्दोलनले बनाएको सरकारले उनीहरूमाथि नै दमन गरेकाले प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाइ थियो । उनले आफूहरूको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्