site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको बैठक, के भयो छलफल ?

काठमाडौं । वर्तमान सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री, गृहसचिवसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् । 

वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न सुरक्षा निकायका प्रमुखसहितको उच्चस्तरीय बैठक बसेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक करिब दुई घण्टा चलेको थियो ।

प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुख बैठकमा सहभागी थिए । 

बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आआफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

“सुरक्षा अवस्थाबारे हामीले सुक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्,” बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ ।” 

उनले सम्बद्ध पक्षहरूसँग वार्ता गर्ने र संवादबाटै समस्याको समाधान खोज्ने उनले बताए । अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि उनले आग्रह गरे । 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्