काठमाडौं । चीनमा भूमिगत चर्चहरूसँग जोडिएका इसाई समुदायले फेरि एकपटक दमनकारी कारबाहीको सामना गरिरहेका छन् । उनीहरूमाथि नयाँ शिराबाट कारबाही भइरहेको छ । यो घटनाले चीनका राष्ट्रपति सीको शासनकालमा धार्मिक स्वतन्त्रताप्रति बढ्दो असहिष्णुतालाई देखाउँछ ।
चिनियाँ कानुन अनुसार, इसाईहरूलाई कम्युनिस्ट पार्टीद्वारा नियन्त्रित गरिने धार्मिक संस्थाहरूसँग सम्बन्ध राख्ने चर्चहरूमा मात्र प्रार्थना गर्ने अनुमति छ । अहिलेसम्म, केवल दुई इसाई समूहलाई मात्र आधिकारिक मान्यता मिलेको छ । चाइनिज पेट्रिओटिक क्याथोलिक एसोसिएसन र प्रो–टेस्टेन्ट थ्री–सेल्फ पेट्रिओटिक मुभमेन्ट ।
जिओन प्रोटेस्टेन्ट चर्चलाई चीनको सबैभन्दा ठूलो अनौपचारिक इसाई चर्चहरूमध्ये एक मानिन्छ । यो महिनाको सुरुआतमा चर्चमाथि ठूलो कारबाही गरियो । यसका संस्थापक जिन इज्रा मिंगरीसहित लगभग ३० पादरीहरू र सदस्यहरूलाई देशका कम्तीमा सात फरक–फरक प्रान्तहरूबाट गिरफ्तार गरियो ।
बब फू एक चिनियाँ पादरी हुन् । उनले अमेरिकामा धार्मिक समूह चाइनाएडको स्थापना गरेका छन् । उनी चीनमा इसाई उत्पीडनका मामिलाहरूमाथि नजिकबाट नजर राख्छन् । बब फूले यस कारबाहीको सन्दर्भमा भने, “केही प्रहरी अधिकारीहरूले ताला र ढोका तोडिदिए । अरू कतिपयले बिजुली काटिदिए र बिजुली मिस्त्री भएको नाटक गरे । भित्र पस्नुअघि ढोका ढक्ढकाए ।”
गिरफ्तार गरिएका धेरैजसो मानिसहरूमाथि ‘धार्मिक सामग्रीलाई अनलाइन प्लेटफर्ममा अवैध रूपमा प्रसारित गर्ने’ गरेको आरोप छ ।
यस्तो किन भयो भने चर्चले सन् २०१८ मा भर्चुअल सेवाहरूतर्फ मोड लियो । चर्चले अनलाइन प्लेटफर्ममा आफ्नो पहुँच बढाउन सुरु गर्यो । तबदेखि करिब ४० सहरहरूमा कम्तीमा दश हजार मानिस अनलाइन प्लेटफर्ममार्फत चर्चसँग जोडिएका छन् ।
चीन इसाई धर्ममाथि लगाम कसिरहेको छ ?
जर्मनीका धार्मिक स्वतन्त्रता आयुक्त थोमस राचेलले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा एक पोस्टमा धार्मिक स्वतन्त्रताको उल्लंघनको निन्दा गरे । उनले चर्चका सबै सदस्यहरूलाई रिहा गर्न माग गरे ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि चीनको कारबाहीको आलोचना गरे । उनले हिरासतमा लिइएका मानिसलाई तुरुन्त रिहा गर्ने माग गरे । सबै धार्मिक मानिसहरूलाई कुनै डरबिना धार्मिक गतिविधिहरूमा भाग लिने अनुमति दिन आग्रह गरे ।
रुबियोले आफ्नो एक वक्तव्यमा चिनियाँ कम्युनिस्ट पार्टीको उल्लेख गर्दै भने, “यो कारबाहीले सीपीसी ती इसाईहरूप्रति शत्रुतापूर्ण रवैया राख्ने प्रष्ट पार्छ, जो आफ्ना धार्मिक मामिलाहरूमा पार्टीको हस्तक्षेपलाई स्वीकार गर्दैनन् र बिना दर्ता भएका हाउस चर्चमा प्रार्थना गर्छन् ।”
चीनको विदेश मन्त्रालयले रुबियोको आलोचनालाई खारेज गरेको छ । उसले बेइजिङ, धार्मिक मामिलाहरूलाई कानुनअनुसार नियन्त्रित गर्ने र नागरिकको आस्थाको स्वतन्त्रता र सामान्य धार्मिक गतिविधिहरूको सुरक्षा गर्ने बताएको छ ।
जर्मन समाचार एजेन्सी डीपीएको रिपोर्ट अनुसार, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान ले अमेरिकाले चीनको आन्तरिक मामिलाहरूमा हस्तक्षेप गर्नु नहुने बताए ।
‘चाइनाएड’का फूले डीडब्ल्यूलाई जिओन चर्चका २३ सदस्य अहिले पनि हिरासतमा रहेको बताए । आठजनालाई आफ्ना वकिलहरूसँग भेट्न अनुमति दिइएको छ । यद्यपि, यो पनि असामान्य कुरा हो । चीनले अन्तर्राष्ट्रिय दबाबमा यसो गर्न अनुमति दिएको हो ।
फूले भने, “यसपटक चिनियाँ कम्युनिस्ट पार्टीले साँच्चै सहुलियत अपनाएको छ । गिरफ्तार गरिएका मानिसलाई राजनीतिक कैदी मानिन्छ । त्यसैले, पहिले आपराधिक जाँचको दौरान उनीहरूलाई आफ्ना वकिलहरूसँग भेट्न अनुमति दिइनेछ भनेर सोच्न पनि मुस्किल थियो ।”
इसाई धर्ममाथि राष्ट्रपति सीको कडा नियन्त्रण
चीन विश्वको सबैभन्दा धेरै सताइएको इसाई समुदायको घर भएको गैरनाफामुखी संस्था ‘ग्लोबल क्रिश्चियन रिलिफ’को विश्वास छ । सन् २०१२ मा सी सत्तामा आएपछि देखि त्यहाँ धार्मिक स्वतन्त्रतामा तीव्र गतिमा गिरावट आइरहेको उनीहरूको आंकलन छ ।
पछिल्ला दश वर्षमा, सीले धर्मको तथाकथित चिनियाँकरणमा जोड दिएका छन् । यस अन्तर्गत उनले धार्मिक समूहहरूमाथि वैचारिक नियन्त्रणलाई कडा पारेका छन् । चर्चहरू तथा क्रसहरूलाई भत्काउने आदेश दिएका छन् ।
एक इसाई चीनकी बासिन्दा मिरो रेनले हालैका समयमा चीनभित्र बिना दर्ता भएका स्वतन्त्र ‘हाउस चर्चहरू’ माथि प्रहरीको छापामा वृद्धि देखेकी डीडब्ल्यूलाई बताइन् ।
उनले भनिन्, “मैले पछिल्ला केही वर्षहरूमा धेरै चर्च सदस्यहरूलाई एकपछि अर्को गिरफ्तार हुँदै गरेको देखेकी छु । तर, यसअघि यति ठूलो मात्रामा गिरफ्तारीहरू देखेकी थिइनँ । यस पटक यो फरक लागिरहेको छ ।”
मिरो रेन, दक्षिण–पश्चिमी चिनियाँ सहर चेङ्दूस्थित एक हाउस चर्च ‘अर्ली रेन कन्भेन्ट चर्च’की सदस्य थिइन् । सन् २०१८ मा यस चर्चका पादरीलाई गिरफ्तार गरेर नौ वर्ष जेलको सजाय सुनाइएको थियो ।
मिरो रेनले डीडब्ल्यूलाई दर्ता प्रणाली अधिकारीहरूका लागि एक राजनीतिक हतियार बनेको बताइन् । यसको मद्दतले उनीहरू मानिसहरूको आस्था र धार्मिक मान्यताहरूमाथि अधिक नियन्त्रण हासिल गर्न चाहन्छन् । रेन बताउँछिन्, “अधिकारीहरूको मनसाय तपाईंको विचारहरूमाथि नियन्त्रण गर्ने हो । यो आस्थाको सीमाहरूलाई नाघ्नु जस्तै हो ।”
चिनियाँ पादरी फूले डीडब्ल्यूसँगको कुराकानीमा यो उत्पीडन यस्तो समयमा भइरहेको र अधिकारीहरू बिनादर्ता भएका चर्चहरूमा प्रार्थना र सभाहरूलाई ‘राजनीतिक र वैचारिक खतरा’ मानिरहेका बताउँछन् ।
उनले भने, “सी चिनपिङ ईश्वरजस्तो बन्न चाहन्छन् । यदि, तपाईंले उहाँको आदर, पूजा र पूर्णरूपमा उहाँको आज्ञाको पालना गर्नुहुन्न भने उहाँले तपाईंलाई समाजको एक असहनीय व्यक्ति मान्नुहुन्छ । र, यस्तो व्यक्ति यो समाजमा बस्न लायक छैन ।”
चीनका हाउस चर्चहरूमा त्रास
‘प्यू रिसर्च’द्वारा जारी गरिएका चीनका आधिकारिक आँकडाहरू अनुसार, चीनको दुई प्रतिशत जनसंख्या (२.९ करोड देखि ४.४ करोड मानिस) इसाई छन् । यद्यपि, यी आँकडाहरूमा भूमिगत चर्चका सदस्यहरू समावेश छैनन् ।
धेरै धार्मिक विज्ञहरू र विद्वानहरूकोे दर्ता नभएका चर्चका सदस्यहरूलाई पनि सामेल गरियो भने चीनमा कुल इसाईहरूको संख्या करोडौंमा हुनसक्ने विश्वास छ ।
चर्चका नेताहरू र मन्त्रीहरूको सामूहिक गिरफ्तारीले चर्चका सदस्यहरूमा डर पैदा गरेको फूले डीडब्ल्यूलाई बताए । यद्यपि, लामो समयसम्म निगरानीमा रहेका कारण अब धेरै मानिस मानसिक रूपमा सबैभन्दा खराब स्थितिका लागि तयार भइसकेका छन् ।
फू बताउँछन्, “इसाई धर्म मान्ने धेरैजसो मानिसहरूलाई के थाहा छ भने ढिलो वा चाँडो यस्तो हुनसक्छ । चर्चको नेतृत्वमा उत्तराधिकारको योजनाहरू पनि तयार गरिसकिएको छ ।”
यस्ता अवस्थाका बावजुद, जिओन चर्चका संस्थापक पादरी जिनसहित सबै मानिसले आशा त्यागेका छैनन् ।
फूले चिनियाँ सरकारले आफ्नो गिरफ्तारी अभियानमा चर्चका लगभग सबै शीर्ष पादरीहरूलाई हिरासतमा लिए पनि यसका बावजुद इसाई समुदायको सभाहरू र चर्च सेवाहरू पहिले जस्तै बिना रोकावट चलिरहेका बताए ।