काठमाडौं । पाकिस्तान सरकारले तहरिक–ए–लब्बैक पाकिस्तान (टीएलपी) माथि प्रतिबन्ध लगाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, टीएलपीमाथि पछिल्ला चार वर्षमा दोस्रोपटक प्रतिबन्ध लगाइएको हो । पाकिस्तानको मन्त्रिपरिषद्ले सर्वसम्मतिले प्रतिबन्धको समर्थन गरेको थियो ।
“टीएलपी आतंकवादी र हिंसक गतिविधिहरूमा संलग्न छ,” सरकारको वक्तव्यमा भनिएको छ ।
समाचार एजेन्सी एपीका अनुसार, गत हप्ता विरोध प्रदर्शनको क्रममा टीएलपीका प्रदर्शनकारीहरूको प्रहरीसँग हिंसक झडप भएको थियो । जसमा एक प्रहरी र चार सर्वसाधारणको मृत्यु भएको थियो । यसपछि पन्जाब प्रान्तको सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले यस इस्लामिक पार्टीमाथि प्रतिबन्ध लगाएको हो ।
टीएलपीले प्रतिबन्धलाई अस्वीकार गरेको छ । उसले सरकारको निर्णयलाई असंवैधानिक, प्रतिशोधको भावनाले भरिएको, अवैध र तानाशाही कदम भनेको छ ।
सन् २०११ मा गठन भएको टीएलपी २०१६ मा राजनीतिमा आएको थियो । २०२१ मा हिंसक प्रदर्शनहरूपछि इमरान खानको सरकारले पनि टीएलपीमाथि प्रतिबन्ध लगाएको थियो ।
यद्यपि, ६ महिनापछि पार्टीले हिंसात्मक प्रदर्शन नगर्ने सर्तमा प्रतिबन्ध हटाइएको थियो ।
रोयटर्सबाट ।