काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रको सुदृढीकरणका निम्ति नेपाल प्रयत्नशील रहेको बताएका छन् ।
अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५१औँ महासभाको सन्दर्भमा जेनेभामा रहेका उनले अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधिमण्डलसँग आज भएको भेटवार्तामा नेपालमा ‘जेनजी’ आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन र चुनाव घोषणा भएको जानकारी गराएका थिए ।
त्यसक्रममा उनले भारतसँगको सम्बन्ध औपचारिक र देशबीचको मात्रै नभई जनता–जनतामाझ बलियो रहेको बताएका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले आईपीयूका महासचिव मार्टिन चुङगोङसँग पनि भेट गरेका छन् । त्यसक्रममा उनले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको र विधायिकी जिम्मेवारी राष्ट्रियसभाले निर्वाह गरिरहेको बताए ।
जलवायु परिवर्तनको असरमा सहकार्य
यसैबीच, अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर, नवीकरणीय ऊर्जाको विकास र स्थानीय सुशासनलगायत क्षेत्रमा नेपाल र अस्ट्रेलियाबीच सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।
अस्ट्रेलियाका सभामुख मिल्टन डिकसँगको द्विपक्षीय भेटवार्तामा उनले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदानप्रदानजस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरे ।
अस्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको उनले उल्लेख गरे । उनले आउँदा दिनमा दुई देशबीच विविध क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले अस्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीको सुरक्षा, सम्मान र सहयोगी वातावरणका निम्ति धन्यवाद व्यक्त गरेका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । रासस