site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आइसल्यान्डमा पहिलोपटक लामखुट्टे फेला, अनुसन्धान जारी

काठमाडौं । आइसल्यान्डमा पहिलोपटक तीनवटा लामखुट्टे फेला परेका छन् । वैज्ञानिकले यसै साता यसबारे जानकारी दिएका छन् । हालसम्म एन्टार्कटिका र आइसल्यान्डलाई त्यस्तो ठाउँ मानिन्थ्यो, जहाँ लामखुट्टे पाइँदैनथ्यो ।

यसबारे ब्योर्न हजल्टसन नामका एक व्यक्तिले सबैभन्दा पहिले मिडियालाई जानकारी दिएका थिए । उनले अक्टोबर १६ को साँझ एक ‘अनौठो’ किरा देखे । उनले तुरुन्तै त्यसलाई समाते र किराविज्ञ मथियास अल्फ्रेडसनलाई बोलाएका थिए ।

भोलिपल्ट त्यो कुलिसेटा एनुलाटा प्रजातिको लामखुट्टे भएको पुष्टि भयो ।

लामखुट्टे यहाँ स्थायी रूपमा बस्न थालेमा यसले देशको प्राकृतिक सन्तुलन र मानिसको स्वास्थ्यमा असर पार्न सक्ने विज्ञले बताएका छन् ।

वैज्ञानिकले यी लामखुट्टे कहाँबाट आएका हुन् भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।

लामखुट्टे पानीजहाज वा विमानमार्फत आइपुगेका हुन् वा तातो हुँदै गएको मौसमले उनीहरूलाई यहाँ टिक्न सहयोग गर्‍यो भन्ने अध्ययन भइरहेको छ ।

आइसल्यान्डमा यसअघि कहिल्यै जंगली लामखुट्टे देखिएको थिएन । एकपटक विमानमा एउटा लामखुट्टे भेटिएको थियो, तर प्राकृतिक वातावरणमा यसपटक पहिलो घटना हो ।

वैज्ञानिकलाई यी लामखुट्टे जहाज वा सामानका साथ आएका हुन सक्ने आशंका छ । यी लामखुट्टे चिसो मौसममा पनि बाँच्न सक्छन्, किनकि तिनीहरू जाडोमा लुकेर बस्ने क्षमता राख्छन् । बीबीसीबाट ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्