काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षाका लागि फागुन २१ को निर्वाचन गराउन आवश्यक रहेको बताएकी छन् ।
भयरहित वातावरणमा नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको र यसमा राजनीतिक दललगायत सबैको सहयोग आवश्यक रहेको उनले बताएकी छन् ।
“यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु,” नेपाल संवत् ११४६ को शुभकामना दिँदै उनले भनिन्, “जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ ।”
वर्तमान सरकारसँग नेपालको संविधानको अधिनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको उनले बताएकी छन् । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका रहेको भन्दै प्रधानमन्त्री कार्कीले यसमा सहाकार्य गर्न र सचेत नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरिन् ।