site stats
बाह्रखरी :: Baahrakhari
विदेश
तौल घटाउँदा बोनस : चिनियाँ टेक कम्पनीले दिँदै छ करोडौँको इनाम

काठमाडौं । विश्वभर बढ्दो मोटोपनको बहस र चिन्ता कर्पोरेट क्षेत्रसम्म पुगेको छ । चीनको एक प्रसिद्ध टेक कम्पनी इन्स्टा ३६० (आर्शी भिना इन्क)ले आफ्ना कर्मचारीहरूका लागि एक अनौठो योजना ‘मिलियन युआन तौल घटाउने च्यालेन्ज’सुरु गरेको छ  । यो कार्यक्रमअन्तर्गत तौल घटाउने कर्मचारीहरूले ठूलो रकमको बोनस स्वरुप पाउनेछन् ।
कम्पनीले यसका लागि करिब एक मिलियन युआनको बोनस तयार गरेको छ ।

आधा किलो तौल घटाएबापत ५०० युआनको बोनस
यस च्यालेन्जमा भाग लिनका लागि कर्मचारीले नाम दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि हरेक आधा किलो तौल कम गरेबापत ५०० युआनको इनाम प्राप्त हुन्छ । अर्थात्, यदि कुनै कर्मचारीले एक किलो तौल घटाउँछ भने, उसले एक हजार युआन पाउँछन् ।

कम्पनीले यस योजनामा एउटा रोचक सर्त पनि जोडेको छ । यसमा यदि कुनै सहभागीले तौल घटाएपछि फेरि तौल बढाउँछ भने, उसले प्रतिआधा किलो ८०० युआनको जरिवाना तिर्नुपर्नेछ । अर्थात्, जति तौल घटाए त्यही बापत बोनस पाउँछन् त्यति नै बढेमा नोक्सान पनि हुनेछ ।

जेनजी जी याकीले ९० दिनमा २० किलो तौल घटाइन्
यो वर्षकी सबैभन्दा ठूलो विजेता जेनजी कर्मचारी जी याकी बनिन् । उनले ९० दिनमा २० किलो तौल घटाइन् र २० हजार युआनको इनाम जितिन् । जीले भनिन्, “यो सुन्दरताको कुरा होइन, बरु स्वास्थ्यसँग जोडिएको सबैभन्दा उत्कृष्ट चुनौती थियो ।” यो योजनामा एक कर्मचारीले १८ किलो तौल घटाएबापत २८ सय अमेरिकी डलर पाएको पनि उल्लेख छ ।

कम्पनीका प्रवक्ताले यो पहलको मुख्य उद्देश्य कर्मचारीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको बताए । यो योजनाले कर्मचारीहरूमा उत्साह बढाएको र कार्यस्थलमा सकारात्मक वातावरण सिर्जना भएको पनि बताइएको छ ।

सामाजिक सञ्जालमा मानिसहरूले यो अनौठो प्रयोगको व्यापक प्रशंसा गरिएको बताइएको छ । कोहीले यसलाई कर्मचारीहरूको स्वास्थ्यका लागि यो कदम रचनात्मक भएको बताएका छन् भने, केहीले तौल बढेमा जरिवाना लगाउने प्रावधानलाई कठोर भनेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्