site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीभित्र बिगुल फुक्दै ‘जेनजी रेडफोर्स नेपाल’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का जेनजी पुस्ताका युवाहरूले नयाँ ऊर्जासहित ‘जेनजी रेडफोर्स नेपाल’ गठन गरेका छन् ।

सामाजिक सञ्जालबाट हजारौँ युवाहरू ‘जेनजी रेडफोर्स नेपाल’मा जोडिएको पार्टीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा पनि ‘जेनजी रेडफोर्स नेपाल’ पेजका लाखौँ ‘फलोअर’ देखिन्छन् ।

‘जेनजी रेडफोर्स नेपाल’ले मधेसबाहेक सबै प्रदेशको संयोजक समेत तोकिसकेको छ । अनौपचारिक रूपमा संगठित ‘जेनजी रेडफोर्स नेपाल’मा धेरैजसो नेकपा (माओवादी केन्द्र)सँग जोडिएका युवा आबद्ध छन् ।

स्मृति तिमल्सिनाले सामाजिक सञ्जालमा जेनजी समूहका युवा एकत्रित हुनुपर्ने पोष्ट गरेकी थिइन् । उनले पार्टीको काम–कारबाही चुस्त बनाउन नेताहरूकै व्यवहार सुध्रिनुपर्छ भन्ने आशयको स्टाट्स लेखेकी थिइन् ।

उनले अक्टोबर ९ मा लेखेकी थिइन्, “माओवादीमा ९० प्रतिशत युवा भित्र्याउने अभियानमा अब म लाग्दैछु । गुटका चाटुवाहरू चाहिँदैनन्, मलाई । आज माओवादीको साथ चाहिएको छ । ७७ जिल्लाका साथीहरूलाई जोड्ने छु । अब मिसनमा दिनरात नभनी लागौँ । म तपाईंको साथ चाहन्छु ।”

तिमल्सिनाका अनुसार, जेनजी आन्दोलनताका क्रान्तिकारी विचारधाराका जेनजी पनि एक हुनुपर्ने खालको आशयको पोष्टले युवालाई समेटेको हो ।

रेडफोर्समा जोडिएका धेरै युवा माओवादीसँग नै निकट थिए । सामाजिक सञ्जाल फेसबुकबाट सुरु गरेको अभियान यसरी सञ्जालका रूपमा देशका युवासमक्ष फैलिएला भन्ने स्मृतिले सोचेकै थिइनन् ।

उनले बाह्रखरीसँग भनिन्, “अबको राजनीतिमा नयाँ मान्छे आउनुपर्छ भन्ने आशयको एउटा पोष्ट राखेकी थिएँ । पोष्टसँगै मेरो फोन नम्बर पनि राखेकी थिएँ । धेरैले स्वतःस्फूर्त रूपमा मलाई फोन गर्नुभयो । अनि त मलाई पनि अभियान हाँक्ने हौसला बढेको हो ।”

स्मृतिले कक्षा ४ सम्मको शिक्षा जनयुद्धताका चितवनको शक्तिखोर तेस्रो डिभिजनबाटै हासिल गरेको स्मरण गरिन् । उनले भनिन्, “मैले कक्षा ५ देखि मात्र बाहिर पढेकी हुँ । मेरो शरीरमा पूर्व जनमुक्ति सेनाको रगत बगिरहेको छ । मलाई जनमुक्ति सेना अनि जनयुद्धका विषयमा थोरबहुत ज्ञान छ ।”

पछिल्ला केही वर्षयता राजनीतिक दलका नेतृत्वका कारण मुलुकमा अस्थिरता निम्तिएको उनले बताइन् । उनले भनिन्, “पार्टीहरूको कामले पनि मुलुकमा अस्थिरता पैदा भएको हो । यो स्थिति निम्तनुमा दल र दलसँग जोडिएका नेताहरूको कामले हो ।”

स्मृति अखिल (क्रान्तिकारी)की सक्रिय सदस्य हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा उनी पनि सहभागी थिइन् । उनले भनिन्, “भदौ २३ गते म पनि आन्दोलनमा सहभागी भएकी थिएँ । तर हामी कुनै राजनीतिक दलको खोल ओढ्दै आन्दोलनमा गएका थिएनौँ । हाम्रो सहमति नै भएको थियो– जेनजीका रूपमा सहभागी हुने भनेर । २३ गते सरकारको पक्षबाट दमन भएपछि २४ गतेको आन्दोलनमा जेनजीमा आक्रोश त थियो तर आगजनी र तोडफोड गर्ने आशय थिएन ।”

आन्दोलनताका घुसपैठ भएको उनले बताइन् । सरकारले हस्तक्षेप गरेपछि आन्दोलन उग्र बनेको पनि उनको बुझाइ छ ।

रेडफोर्समा अधिकांश पूर्वजनमुक्ति सेना र अखिल (क्रान्तिकारी)सँग जोडिएका व्यक्तिहरूले चासो देखाएको पनि उनले बताइन् । उनले भनिन्, “रेडफोर्समा ३० प्रतिशत बाहिरकै हुनुहुन्छ । स्वतःस्फूर्त रूपमा उहाँहरू जडिनुभएको छ । सबैमा देशमा केही परिवर्तन हुनुपर्छ भन्ने सोच छ ।”

‘जेनजी रेडफोर्स नेपाल’ तिहारलगत्तै सार्वजनिक गर्ने तयारी छ । रेडफोर्स एजेन्डासहित सार्वजनिक हुने स्मृतिले बताइन् ।

जेनजी आन्दोलनले मुलुकमा परिवर्तनको संकेत गरे पनि अहिलेको अवस्था खतरापूर्ण रहेको र स्वार्थकेन्द्रित तवरले सरकार अघि बढिरहेको उनको टिप्पणी छ । उनले भनिन्, “जेनजीका अभियन्ताका रूपमा सरकारका बैठकहरूमा सुदन गुरुङ उपस्थित भएको देखिन्छ । तर, उनको प्रस्तुति ठिक देखिँदैन । कर्मचारीलाई थर्काउने आदेश दिने त्यो तरिका नै होइन । अभियन्ताका रूपमा चिनिएकाहरूले उनीहरूलाई समर्थन गर्नेलाई मात्र जेनजी भन्छन् । अन्यलाई जेनजीका रूपमा व्याख्या गर्दैनन् । जेनजी उमेर समूह हो, त्यो उमेर समूहका सबै जेनजीमा पर्छन् । यसरी पाखा लगाउनु मूर्खता हो ।”

उनले थपिन्, “जेनजीको नेतृत्वका रूपमा ह्यान्डल गरिरहँदा आफ्नो जिम्मेवारी बहन नगरेको देख्दा म छक्क पर्छु ।”

माओवादीनिकट संगठनका रूपमा ‘जेनजी रेडफोर्स नेपाल’लाई चिनाउन चाहन्छिन् स्मृति । तर, यता माओवादीका नेता–कार्यकर्ता अझै अन्योलमा छन् ।

माओवादीको महाधिवेशन सचिवालय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले ‘जेनजी रेडफोर्स नेपाल’सँग जोडिएकासँग कुराकानी भइरहेको जनाएको छ । ‘जेनजी रेडफोर्स नेपाल’लाई पार्टीले आधिकारिक रूपमा लिइसकेको छैन, तर अनौपचारिक छलफल भइरहेको सचिवालयका एक सदस्यले बताए ।

स्मृतिले बाह्रखरीसँग भनिन्, “माओवादीमा पनि गुटगत राजनीति छ । म माओवादी केन्द्रको पूर्वजनमुक्ति सेनासँग प्रत्यक्ष जोडिएकी छु । हामी केही नेताको सल्लाह–सुझावअनुसार अघि बढिरहेका छौँ । प्रायः दोस्रो तहका हरेक नेतामाथि एउटा न एउटा आरोप छ ।”

उनले थपिन्, “हजारौँ सहिदको रगतबाट सिञ्चित पार्टी हो, माओवादी केन्द्र । पार्टीभित्रको विकृति–विसंगति हटाएर एउटा स्वच्छ र नितान्त जनताको पार्टीका रूपमा स्थापित गर्न चाहन्छौँ ।”

“रेडफोर्सलाई माओवादी केन्द्रकै नेताहरूको भरणपोषण छ । म पनि रेडफोर्सलाई माओवादी आवद्ध अभियानका रूपमा चिनाउन चाहन्छु,” उनले थपिन् ।

जेनजी आन्दोलनताका अखिल (क्रान्तिकारी) र वाईसीएल फ्रन्टलाइनमा नआएको उनको बुझाइ छ । “त्यसबखत वाईसीएल र अखिल (क्रान्तिकारी) कोही कसैले केही भनेनन् । अहिले ढाल बन्न खोज्दै छन्,” उनले भनिन् ।

पार्टीलाई माया गर्ने जो–कोहीलाई समेट्न पार्टीले कञ्जुस्याइँ गर्न नहुने पनि उनले बताइन् । सबैलाई समेट्न सके मात्र पार्टी बलियो बन्ने उनको ठम्याइ छ ।

रेडफोर्समा २१ वर्षीया सेजल कँडेल युरोप संयोजकका रूपमा जोडिएकी छन् । सुदूरपश्चिम प्रदेशमा ‘जेनजी रेडफोर्स नेपाल’ को संयोजन पवन सुनारले गरेका छन् । उनी अखिल (क्रान्तिकारी)सँग जोडिएका जेनजी हुन् । सुनार माओवादीलाई पनि स्वच्छ र सफा बनाउनुपर्ने बताउँछन् ।

पार्टीका नेताहरूमा गलत आचरण भए कारबाही गर्नुपर्ने उनको भनाइ छ । उनले थपे, “रेडफोर्स जेनजी उमेर समूहभित्र पर्ने क्रान्तिकारी विचारधारा राख्ने व्यक्तिलाई समेट्न ‘जेनजी रेडफोर्स नेपाल’ अभियान सुरु गरेको हो । गल्ती सुधार्दै आत्मालोचनासहित अघि बढ्ने नेतामात्र पार्टीभित्र हुनुपर्छ ।”

माओवादीको एजेण्डा र मुद्दा ठीक भए पनि जनतामाझ विलुप्त भइरहेको उनले सुनाए । जेनजी पुस्ताका सक्षम व्यक्तिको एजेण्डा छायाँमा परेको भन्दै उनले उस्तै परे आफूहरूले नेतृत्व लिन सक्ने पनि बताए ।

झापा संयोजकको जिम्मेवारी नविन बस्नेतले सम्हालेका छन् । स्मृतिले सामाजिक सञ्जालमा उठाएका माग–मुद्दा मन परेर उनी ‘जेनजी रेडफोर्स नेपाल’मा जोडिएका हुन् । बस्नेत अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष समेत हुन् ।

उनले बाह्रखरीसँग भने, “स्मृति मभन्दा उमेरमा सानो भए पनि उनको विचार मलाई मन पर्‍यो । हामीबीच यस्ता विषयमा निक्कै पटक छलफल पनि भइसकेको छ । व्यक्तिलाई बोकेर भन्दा पनि सिंगो पार्टीलाई शुद्धीकरण गर्ने रूपमा हामी अघि बढेका हौँ ।”

उनले भने, “माओवादीभित्र सुदृढीकरण गर्न, पार्टीभित्र भएका नराम्रा गतिविधि बाहिर ल्याउन र समग्र पार्टीलाई सच्याउने हाम्रो लक्ष्य हो ।”

सुरुआती चरणमा पार्टीले सामान्य रूपमा लिए पनि सचिवालयबाटै यस विषयमा चासो देखाइएको उनको भनाइ छ । उनले थपे, “जेनजी फोर्स बनाइसकेपछि नकारात्मक सन्देश गए पनि राम्रो विषयलाई समर्थन गर्ने भन्ने विषयमा समर्थन मिलेको छ ।”

पार्टीभित्रका नेताहरूको काममाथि खबरदारी गर्ने र सुदृढीकरणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक भएका पनि उनले बताए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेकपा (माओवादी केन्द्र)का महाधिवेशन सचिवालय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीको माग–मुद्दा माओवादीको एजेन्डा रहेको बताउँदै आएका छन् । ‘जेनजी रेडफोर्स नेपाल’ लाई उनले कसरी लिन्छन्, त्यो भने खुलेको छैन ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्