काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक—पटक विघटन गर्नेहरूले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । शनिबार (कात्तिक १) पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलक्षित यस्तो टिप्पणी गरेका हुन् ।
उनले सरकारले तोेकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तने खतरा रहेको बताए । वर्तामान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई उनले आग्रह गरे ।
घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको सबभन्दा उत्तम विकल्प रहेको उनकोभ भनाइ थियो । यसलाई भड्काउने कोसिस नगर्न उनले चेतावनी समेत दिए ।
प्रचण्डको भनाइ पढ्नोस्–
हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनका कुरा गर्नुजस्तो हास्यास्पद कुरा अरू केही हुन सक्दैन । म ती साथीहरूलाई यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न आग्रह गर्न चाहन्छु । मैले यहाँ कुनै आवेग र आक्रोश व्यक्त गर्दै छैन, यथार्थ यही नै हो । नेकपा (एमाले)का साथीहरूलाई आजको यो यथार्थलाई स्वीकारेर निर्वाचन सफल पार्न आउनुहोस्, सबै मिलेर बृहत् सहकार्य गरौँ । यो नै देशको, संविधानको, लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प हो । यसलाई भाँड्ने दुचेष्टा कसैले नगरौँ । न्युज एजेन्सी नेपाल