काठमाडौं । सातौँ बाह्रखरी कथा प्रतियोगिताका निर्णायकमण्डलका संयोजक अशेष मल्लले यो प्रतियोगिताका कथामा चलचित्र र नाटक बनाउन सकिने बताएका छन् ।
शुक्रबार (असोज ३१) काठमाडौंमा ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ घोषणा समारोहमा मल्लले समाज र माटो बोल्ने कथा आउने गरेकाले बाह्रखरी प्रतियोगिताका कथामा चलचित्र र नाटक बनाउन सकिने बताएका हुन् ।
“बाह्रखरी कथासंग्रहहरू पल्टाउँदा नेपाली साहित्यको स्तरोन्नति भएको देखाउँछ । नेपालको मौलिकपन देखिन्छ । नेपाल माटो र पहिचानको कुरा समेटिएको छ,” उनले भने, “कथामा नयाँ प्रयोग देखिन्छ । यी कथामा सिनेमा र नाटक बनाउन सकिन्छ ।”
उनले बाह्रखरी कथा प्रतियोगिताका उत्कृष्ठ कथाहरू पछिल्लो दशकको नेपाली समाजको ऐना भएको उल्लेख गरे । उनले विश्वभर रहेका नेपालीलाई प्रतियोगितामा कथा लेखेर पठाउन आह्वान पनि गरे ।
उनले प्रथम पुरस्कारको राशि एक लाखबाट बढाएर दुई लाख पुर्याउनु नै नेपाली साहित्यको स्तरोन्नतिको संकेत भएको बताए ।