site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले केन्द्रीय सदस्य ढकाल भन्छिन्– नेतृत्व परिवर्तनको बहस 'बेमौसमको बाजा'

काठमाडौं । नेकपा (एमाले)की केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनोट अब महाधिवेशन प्रतिनिधिको हातमा रहेको बताएकी छन् । बिहीबार ललितपुरको जावलाखेलमा जारी एमालेको केन्द्रीय कमिटी बैठकमा ढकालले अहिले नेतृत्व परिवर्तनको बहस 'बेमौसमको बाजा' भएको बताइन् ।

"पार्टीको ११औँ महाधिवेशन घोषणा हिजो घोषणा भइसकेको छ । त्यसपछि पनि नेताहरू अध्यक्षले राजीनामा दिनुपर्दछ भन्दै हुनुहुन्छ," ढकालले भनिन् "अब कसलाई अध्यक्ष बनाउने, कसलाई महासचिव बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिको हातमा पुगिसक्यो । महाधिवेशन अघि नेतृत्व परिवर्तन भन्ने कुरा बेमौसमको बाजा हो ।"

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुखसमेत रहेकी ढकालले गत भदौ २४ गते गरिएको तोडफोड र आगजनीको पीडित आफू पनि भएको बताइन् । यसमा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई दबाब दिनुपर्ने र पार्टीले छुट्टै आयोग बनाएर घटनामा संलग्नहरूको छानबिन गर्नुपर्ने उनको माग छ ।

बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्