काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानसम्मत महाधिवेशनको गर्नुपर्ने बताएका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन भएर प्रस्ताव दर्ताको तयारी भइरहेका बेला सभापति देउवाले विधानसम्मत महाधिवेशनमा जान सुझाव दिएका हुन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि पहिलोपटक सार्वजनिक भएका देउवाले आफूले नेतृत्व छोड्ने घोषणा गरिसकेकाले अबको महाधिवेशन विधानसम्मत हुनुपर्ने बताए । उनले विधानसम्मत महाधिवेशनसहितका विषयमा निर्णय गर्न कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।
“कांग्रेसले इतिहासबाट आर्जित विश्वसनीयता कायम राख्नुपर्छ । यसका लागि उच्च मनोबलका साथ एकजुट हुन आवश्यक छ,” देउवाले भने, “मैले १५औँ महाधिवेशनबाट बिदा दिने भनेर यसअघि नै भनिसकेको छु । नेपाली कांग्रेसको विधानसम्मत महाधिवेशन हुनुपर्छ ।”
नेपाली कांग्रेसको विधानमा चार वर्षको कार्यकाल छ । आगामी मंसिर मसान्तभित्र अहिलेको कार्यसमितिको कार्यकाल समाप्त हुन्छ । विशेष परिस्थितिमा कार्यकाल थप्ने प्रावधान विधानमा भए पनि सबैले नियमित महाधिवेशन भनिरहेको अवस्थामा केन्द्रीय समितिबाट कार्यतालिका ल्याउने वा विशेष महाधिवेशन गर्ने भन्ने टुंगो लागेको छैन ।
विशेष महाधिवेशनका लागि भन्दै देशभरबाट दुई हजार ४८५ जनाको हस्ताक्षर ल्याएर केन्द्रीय कार्यालयमा दर्ता गर्ने तयारी भइरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक दिएर महाधिवेशनमा जानुपर्ने माग राख्दै आएका थिए । दुई महामन्त्रीले सुरुमा घोषणा गरेको हस्ताक्षर अभियानमा नेता शेखर कोइराला पक्ष पनि सहभागी भयो ।
तर, दबाब सिर्जनाका लागि हस्ताक्षर अभियानमा सहभागी भए पनि आफ्नो टिम शीघ्र महाधिवेशनको पक्षमा उभिने नेता कोइरालाको भनाइ छ । देउवाको भनाइले शीघ्र महाधिवेशनका लागि वातावरण बनाएको कोइरालाको तर्क छ । शीघ्र महाधिवेशनले कांग्रेसलाई थप सुदृढ र बलियो बनाउने जिम्मा सभापतिले केन्द्रीय समितिलाई छोडेको उनको तर्क छ ।
“सभापतिज्यूले विधानसम्मत महाधिवेशन भनेर भनिसक्नुभएको छ । उहाँले नेतृत्व छोड्नका लागि म तयार छु भनेर पनि भनिसक्नुभएको छ,” कोइरालाले बाह्रखरीसँग भने, “स्वास्थ्य अवस्थाका कारण उहाँले कार्यभार तोकेर जानुभएको छ । अब केन्द्रीय समितिले परिपक्व निर्णय गर्नुपर्छ ।”
नेता कृष्ण सिटौला कांग्रेसको महाधिवेशन देशका समस्याको हल नभएको तर्क गर्छन् । कांग्रेसले विवेकसम्मत निर्णय गर्न आवश्यक रहेको उनले बताए । उनले अहिलेसम्म देशमा आएका संकटको समाधान कांग्रेसको नेतृत्वमा नै निकालिएकाले यस पटक पनि जिम्मेवारपूर्ण निर्णय गर्नुपर्ने समय आएको बताए । देशमा संविधान हुँदाहुँदै संविधानविपरीतको सरकार रहेको, संविधानको भावनाविपरीत संसद् विघटन गरिएको, जनताले पाँच वर्षको म्यान्डेट दिएकामा बीचमै संसद् भंग हुँदा अन्योल पैदा भएको परिस्थिति रहेको उनी बताउँछन् ।
सिटौलाले कांग्रेसका धेरै नेताको जीवनभरको कमाइ खरानी भएको, कांग्रेसका आदर्श मानिएका सादगी जीवनका पहिचान बनाएका नेता कृष्णप्रसाद भट्टराईको आश्रममा आगो लगाएको, गणेशमान सिंह र बीपी कोइरालाका पिताजी कृष्णप्रसाद कोइरालाको निवास जलाइएकोसहितका अवस्था रहेको स्मरण गरे । यी विषयमा कांग्रेसले ठोस धारणा बनाउँदै जेनजी प्रदर्शनकारीका वास्तविक माग सम्बोधन गर्ने अठोट लिएर अघि बढ्नुपर्ने उनको मत छ ।
“यी सबै समस्याको सम्बोधन नेतृत्व परिवर्तनका लागि हतारोमा गरिने विशेष महाधिवेशनबाट हुन सक्दैन,” नेता सिटौलाले बाह्रखरीसँग भने, “यसका लागि कांग्रेसले तल्लो तहसम्म छलफल गर्दै भोलिका दिनमा असन्तुष्टि व्यवस्थापन गर्न सक्ने कांग्रेस निर्माण गराउनुपर्छ ।”
अर्का नेता विजय गच्छदार कांग्रेसको केन्द्रीय समिति जेनजी प्रदर्शनले निर्माण गरेको आकस्मिक परिस्थिति र महाधिवेशनमै केन्द्रित हुने बताउँछन् । बाँकी रहेको अवधिमा समय थपेर भए पनि महाधिवेशन भने नियमित नै हुने तर्क उनको छ ।
“अब विशेष महाधिवेशन होइन, १५औँ महाधिवेशन हुन्छ । त्यो केन्द्रीय समितिको सहमतिको निर्णयबाट हुन्छ,” गच्छदारले बाह्रखरीसँग भने, “पुरानै प्रतिनिधिबाट नेतृत्वमात्र बदलेर कांग्रेसमा उत्साह आउन सक्दैन । अब कांग्रेसमा सुदृढ एकता र उत्साहसहित राष्ट्रिय जिम्मेवारी बोक्न सक्ने पार्टी बनाउन नियमित महाधिवेशन नै उचित विकल्प हो ।”
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देश र पार्टीको अवस्थाबारे जिम्मेवार भएर उचित मितिमा नियमित महाधिवेशन हुने तर्क गरे ।
“अहिले अब एक वर्षमा डेढ वर्षमा महाधिवेशन गर्ने भनेर कसैले भनेको छैन, भन्ने कुरा पनि हुँदैन । तर, महाधिवेशनजस्तो पार्टीको सर्वाधिक महत्त्वको संस्थालाई उचित र व्यवस्थित प्रक्रियाबाट गर्नुपर्छ,” महतले भने, “यो प्रक्रियाका लागि न्यूनतम कति समय आवश्यक हुन्छ भन्ने निर्क्योल केन्द्रीय समितिले गर्छ । दुई महिना, चार महिना कति समय लाग्ने हो । त्यति समय तोकेर सहमतिमै कार्यतालिका पास गर्नुपर्छ ।”
उनले जेनजी आन्दोलनपछि विनाश भएकै गतिमा आकस्मिक महाधिवेशन नहुने तर्क गरे । उनले सभापतिको अवस्था र उनका भनाइप्रति महामन्त्रीहरूले कृतघ्न व्यवहार गरेको टिप्पणी गरे ।
“यहाँ पो उहाँ (सभापति देउवा) आज आउनुभयो । घरमा त भेट भइरहेको छ । उहाँसँग कुराकानी त भइरहेकै छ नि,” महतले भने, “उहाँले यसअघि नै म सभापति छोड्छु भन्नुभएको छ । अहिले पनि उहाँले म सभापतिमा फर्किने होइन भन्नुभएको छ । तर, बाहिर आयो विशेष महाधिवेशन भनेको छ, अहिले नै छोड्नुपर्छ भनेको छ ।”
उनले सञ्चारमाध्यमा आएका विषयवस्तुप्रति पनि असन्तुष्टि जनाए । केही सञ्चारमाध्यमले महामन्त्रीहरूको मुखपत्रको रूपमा विषयवस्तु पस्किरहेको उनको गुनासो छ ।
“तपाईंहरूको अधिकार हो, गर्नुस् । हामी तपाईंहरूको कन्टेन्ट फलो गरिरहेका छौँ, लोकतन्त्रका लागि तपाईंहरूको दृष्टिकोण आम मानिसहरूले बुझ्ने मौका पाएकै छन्,” महतले भने, “लोकतन्त्रकै विरुद्धमा षडयन्त्र भएका संकेतहरू सार्वजनिक हुँदै छन् । सार्वभौमसत्ता जोखिममा पार्ने खेल भएका भन्ने विषयहरूको प्रमाणिकता परीक्षण हुँदै छ, मिडिया कता उभिन्छ देशले हेर्नेछ ।”
देउवा निकट नेता मोहनबहादुर बस्नेतले महामन्त्रीद्वयले गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको आरोप लगाए । त्यसै कारण अहिले कहिले र कुन महाधिवेशन भनेर बहस भइरहेको उनको तर्क छ । महामन्त्रीद्वयले सदस्यता अद्यावधिकको काम विधानअनुसार गरेको भए अहिले पार्टी महाधिवेशनमा प्रवेश गरिसकेको अवस्था हुने उनको भनाइ छ ।
“नेपाली कांग्रेसको महाधिवेशनका लागि प्राथमिक विषय भनेको सदस्यता अद्यावधिक गर्ने हो । त्यो जिम्मेवारी विधानतः महामन्त्रीको हो,” बस्नेतले बाह्रखरीसँग भने, “उहाँहरूले सदस्यता अद्यावधिक किन गर्नुभएको छैन हामी सोध्नेछौँ ।”
महामन्त्रीद्वयले ‘नीति महाधिवेशन’ भनेको महासमिति बैठकमा ०८० फागुन १० मा पारित भएका दस्तावेज अहिलेसम्म प्रकाशित नगरेको, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई पढ्ने मौकासमेत नदिएको उनको भनाइ छ ।
“महामन्त्री पद अरूलाई प्रश्न उठाउँदै आरोपित गर्दै हिँड्ने हो कि जवाफदेही बन्नुपर्ने हो ?,” बस्नेतले भने, “यस्ता प्रश्न मिडियाले सोध्नुपर्ने हो । तर, मिडियामा उहाँहरू आफैँ प्रश्न सोध्दै हिँड्नुहुँदैछ ।”
