site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कृष्णबहादुर महराको उतारचढाव : विद्रोहदेखि तस्करीसम्म !

काठमाडौं । कुनै बेला माओवादीका क्रान्तिकारी नेता अब कृष्णबहादुर महरा तस्करमा सूचीकृत हुनेछन्, न्यायालयबाट ठहरिएमा । भूमिगत संघर्षका नायक, शान्ति वार्ताका प्रमुख पात्र र संघीय संसद्का सभामुख हुन्, महरा । त्यतिमात्रै होइन पटक–पटक विभिन्न मन्त्रालय सम्हालेका नेता पनि हुन् । 

सभामुखकै कुर्सीमा हुँदा उनीमाथि ‘यौन दुर्व्यवहार’को अभियोग लाग्यो । अनि त्यहीँबाट सुरु भयो, उनको ओरालो राजनीतिक यात्रा ।

उनी २०४८ सालमा रोल्पाबाट प्रतिनधिसिभा सदस्य बनेसँगै राष्ट्रिय राजनीतिका एक पात्र बनेका थिए । उनको राजनीतिक भूमिकाकै कारण कुनै बेला चर्चाका शिखरमा थिए, तर आफ्नै खराब कर्मले महरा पछिल्ला वर्षहरूमा एक पछि अर्काे विवादमा जेलिए ।

यतिखेर पूर्वसभामुख महरा प्रहरी हिरासतमा छन्, सुन तस्करी प्रकरणमा । उनलाई ‘भेप’ प्रकरणमा संलग्नता भएको आशंकामा ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित उनको निवासबाटै असोज २६ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो ।

सुटकेसभित्र ७३ बट्टामा ७३० थान विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करीबाट लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

उनीमाथि झन्डै आठ करोड ५५ लाख रुपैयाँ बराबरको सुन तस्करीमा संलग्नताको आरोप लागेको छ । यसअघि पनि भेप प्रकरणमै पक्राउ परी महरा हाजिरी जमानीमा छुटेका थिए । उनलाई थुनामै राखी अनुसन्धान गर्नुपर्ने देखिएकाले पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रोल्पामा जन्मिएका महरा शिक्षा क्षेत्रमा लागेपछि राजनीतिमा होमिएका हुन् ।  उनले माओवादी सशस्त्र युद्धकालमा महत्वपूर्ण नेताको भूमिका निर्वाह गरेका थिए ।  माओवादी संघर्षका बेला २०५२ देखि २०६२ सम्मको सशस्त्र द्वन्द्वमा महरा पार्टीको उच्च तहका नेता थिए । 

शान्ति वार्तामा उनले टोलीका प्रमुख वार्ताकारको जिम्मेवारी सम्हालेका थिए ।  नेकपा (माओवादी केन्द्र) शान्तिपूर्ण राजनीतिमा आएपछि २०६३ सालको ऐतिहासिक जनआन्दोलनपछि महरा खुला राजनीतिमा सक्रिय बने ।
उनको राजनीतिक यात्रा २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । 

शिक्षक संगठनको सचिव, अनेरास्ववियुका कोषाध्यक्षदेखि नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका मन्त्रीको भूमिकासम्म महराले निर्वाह गरिसकेका छन् ।  करिब १० वर्ष शिक्षण पेशामा संलग्न रहेका महराले २०४८ सालबाटै संसदीय राजनीतिक यात्रा सुरु गरेका हुन् ।

संयुक्त जनमोर्चा नेपाल संसदीय दलका नेता हुँदै २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजकका रूपमा काम गरेका महरा २०६१ सालमा नेकपा (माओवादी केन्द्र) का प्रवक्ता बने । २०६३ सालमा शान्ति प्रक्रियाका लागि गठित तेस्रो वार्ता टोलीका संयोजक समेत बने ।

२०६३ साल माघमा अन्तरिम संविधान जारी भएपछि बनेको अन्तरिम व्यवस्थापिका–संसदमा माओवादी संसदीय दलका नेता रहेका महरा अन्तरिम सरकारका सूचना तथा सञ्चारमन्त्री र सरकारका प्रवक्ता बने ।

२०६४ साल चैतमा भएको संविधानसभा सदस्य निर्वाचनमा दाङ–३ बाट निर्वाचित भए ।  २०६५ सालमा प्रचण्ड नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारमा सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता बने । पार्टीको स्थायी समिति सदस्य र अन्तर्राष्ट्रिय ब्युरो इञ्चार्ज बनेका महरा २०६७ सालमा एकीकृत नेकपा (माओवादी) तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । 

२०६९ सालमा अन्तरिम चुनावी मन्त्रिपरिषद् निर्माणका लागि राजनीतिक सहमति–पत्र तथा अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य बनेका महरा माओवादी केन्द्रको सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य, केन्द्रीय संगठन विभाग प्रमुख तथा मध्य ब्यूरो इञ्चार्ज बने ।

२०७० मंसिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा–१ बाट निर्वाचित भएका महरा २०७१ मा एकीकृत नेकपा (माओवादी) का महासचिवमा निर्वाचित भए ।  २०७३ सालमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनेका महरा २०७४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको भूमिका समेत निर्वाह गरे ।

महरा २०७४ सालमै नेपालको संघीय संसद्को सभामुखमा निर्वाचित भएका थिए, जुन ऐतिहासिक पद थियो । तर, २०७६ सालमा एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपर्‍यो । 
उक्त मुद्दाले उनको राजनीतिक जीवनमा ठूलो असर पार्‍यो । उनी केही समयका लागि पक्राउ परेका थिए । पछि अदालतबाट रिहा भए ।

पछिल्लो समय महरा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्यका रूपमा सक्रिय थिए । यसअघि पनि अनुसन्धानको दायरामा तानिएका पूर्वसभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान अघि बढ्न सकेको थिएन । 

जेनजी आन्दोलनपछि मुलुकको शक्ति सन्तुलनमा आएको परिवर्तनसँगै उनी फेरि पक्राउ परेका हुन् । उनलाई अहिले भेपमार्फत् सुन तस्करी प्रकरणमा मुद्दा दायर गरिएको छ ।  संगठित अपराध र भन्सार सम्बन्धी दुई कसुरमा उनीविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३५४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

उनी यसअघि हाजिरी जमानतमा छुटेका थिए । सोमबार उनीरुविरुद्ध दुई कसुरमा मुद्दा दायर भएको हो । आजबाट थुनछेक बहस सुरु हुनेछ ।  २०७९ पुस १० गते काठमाडौं आएका एकजना चिनियाँ नागरिकले विमानस्थलमै एउटा सुटकेश अलपत्र पारेर हिँडेका थिए । दावाजीन वाङ नामक ती व्यक्तिले ल्याएको सुटकेश शंकास्पद लागेपछि विमानस्थलमै खटिएको सुरक्षा निकायले बरामद गरेको थियो ।

उक्त अलपत्र परेको सामग्री छुटाइदिन महराले पटक–पटक फोन गरेको अनुसन्धानबाट खुलेको थियो । उक्त सुटकेशमा विद्युतीय चुरोट (भेप) फेला परेको थियो । उक्त भेपभित्र लुकाएर ल्याइएको साढे ११ किलो सुन बरामद भएपछि थप अनुसन्धान थालिएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्