site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जेरी अन टप’मा ६० लाखमा ३० मिनेटको भीएफएक्स, कसरी भयो काम ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा भीएफएक्समा धेरै काम गर्न सक्दैनन् भन्ने भ्रम तोड्ने प्रयास भएको छ । चलचित्र ‘जेरी अन टप’को निर्माण पक्षले भीएफएक्समा पर्याप्त काम गर्दै नेपाली चलचित्र उद्योगले पनि यसमा काम गर्ने सक्ने सन्देश दिएको हो । 

निर्माण पक्षले ‘जेरी अन टप’मा ३० मिनेटको भीएफएक्स रहेको जनाएको छ । निर्माता सरोज न्यौपानेका अनुसार, चलचित्रको अन्तिम ३० मिनेटमा भीएफएक्सको दृश्य छ ।

“चलचित्रको क्लाइमेक्ससहित अन्तिम ३० मिनेटको दृश्य भीएफएक्स प्रयोग गरिएको छ,” निर्माता सरोज बाह्रखरीसँग भन्छन् । 

निर्माण टिमले भीएफएक्सका लागि ठूलो बजेट खर्च गरेको छ । सरोजका अनुसार, करिब ६० लाख रुपैयाँ भीएफएक्समा मात्रै खर्च भएको छ । 

यसका लागि भीएफएक्स आर्टिस्टलाई करिब तीन महिनाको समय दिइएको उनले जानकारी दिए । नेपाली भीएफएक्स आर्टिस्टले नै भीएफएक्समा काम गरेका थिए ।

अभिनासमान नापितको टोलीले भीएफएक्सको काम गरेको हो । “हामीले अभिनासको टिमलाई भीएफएक्सको काम गर्न दिएका थियौँ । चार जनाको टिमले करिब तीन महिना लगाएर भीएफएक्सको काम गरेको हो,” सरोजले भने । 

‘जेरी अन टप’मा चलचित्रको मुख्य पात्र अनमोल केसीले सगरमाथा आरोहण गरेको दृश्य देखाउनु थियो । तर, अनमोल स्वयं सगरमाथा चढ्न सक्दैन थिए । त्यसैले उनले सगरमाथा चढेको दृश्य भीएफएक्स गर्नुपर्ने थियो ।

सिनेमाको पात्र साँच्चै सगरमाथा चढ्न नसक्ने, ऊ एक्लैलाई मात्र नदेखाएर पनि नहुने र सिनेमेटोग्राफर, लाइट, साउन्डलगाय सबै सगरमाथामा गएर खिच्न करिब असम्भव प्रायः भएकाले निर्माण टिमसँग भीएफएक्स गर्नुको विकल्प थिएन ।   

“सुरुमा कथा सुन्दा यो सिनेमा पनि हाम्रा लागि सम्भव छ र भन्ने थियो । सगरमाथा चढ्न सम्भव छैन, भीएफएक्समा महँगो खर्च लाग्ने हुँदा सम्भव छ र भन्ने थियो,” सरोज भन्छन्, “तर, हामीले भीएफएक्समा खर्च गर्न आँट्यौँ र चलचित्र निर्माण सम्भव भयो ।” 

चलचित्रको छायांकनका लागि ‘जेरी अन टप’को टिम सगरमाथाको बेसक्याम्पसम्म पुगेको थियो । सरोजका अनुसार, बेसक्याम्पमा निर्माण टिम १८ दिन बसेको थियो । 

चिसोमा काम गर्न सहज होस् भनेर उनीहरू हिँडेर नै बेसक्याम्प पुगेका थिए । “हामी हेलिकोप्टरमा जाने सोचमा थियौँ । तर, हामीलाई हिँडेर जाँदा शरीर चिसोसँग एडजस्ट हुँदै जान्छ भन्ने सुझाव आयो,” सरोज भन्छन्, “त्यसैले हामी लुक्ला, नाम्चे हुँदै बेसक्याम्प पुगेका थियौँ ।” 

लुक्ला, नाम्चे हुँदै सगरमाथाको बेसक्याम्प पुगेको टिम त्यहाँ १८ दिन बसेर छायांकन गरेको थियो । छायांकनका क्रममा हिमपातसमेत भएको उनी स्मरण गर्छन् । 

“हामी लुक्लाबाटै हिँडेर गएकाले शरीरले चिसो एडजस्ट गर्दै गएकाले स्वास्थ्यमा धेरै समस्या त भएन । तर, चिसोले काम गर्न भने समस्या भएको उनी बताउँछन् । 

“हामीले हिमपात हुँदा माइनस २० डिग्री तापक्रममा समेत ३५ जनाको टिमले काम गरेका छौँ,” सरोज भन्छन्, “बाँकी सुटिङ हामीले बालाजुमा सेट लगाएर गरेका छौँ ।” 

बेसक्याम्पसम्म पुगेर छायांकन गर्दा ठूलो खर्च भएको सरोज बताउँछन् । लाइटलगायत दुईहजार केजी सामग्री आफूले हेलिकोप्टरबाट पार्सल गरेको उनी बताउँछन् ।

बाह्रवटा याक, घोडा र ३५ जनाको टिमले सगरमाथाको बेसक्याम्पमा बसेर छायांकन गरेको उनले जानकारी दिए ।

सरोजले नेपाली चलचित्रले पनि भीएफएक्सहित राम्रो काम गर्न सक्छन् भन्ने अन्तर्राष्ट्रिय बजारमा पनि सन्देश जाने अपेक्षा गरेका छन् । चलचित्र पर्यटनको प्रवर्द्धन गर्नेमा पनि उनी ढुक्क छन् । 

“भीएफएक्सको काम त देखिने नै छ । यो सँगै चलचित्र पर्यटनको अर्को महत्त्वपूर्ण विषय हो । सगरमाथा भन्नबित्तिकै विश्वले चिन्छ,” सरोज अगाडि थप्छन्, “सगरमाथाको सुन्दरता देखेपछि नेपालको पर्यटन प्रवर्द्धन पनि हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।” 

चलचित्र ‘जेरी’ले मुस्ताङको सुन्दरतालाई थप फैल्याएको सरोजले स्मरण गरे । “जेरीले मुस्ताङको सुन्दरतालाई फैल्याउने काम गरेको थियो,” सरोज भन्छन्, “जेरी अन टपले सगरमाथाको सुन्दरतालाई विश्वमा फैल्याउन थप सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ ।”

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्