काठमाडौं । पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको छ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका तर्फबाट आइतबार (असोज २६) ब्युरोमा उजुरी दिइएको हो ।
केही दिनअघि सुवेदीले एक भिडियो अन्तर्वार्तामा प्रचण्डका विषयमा बोलेका थिए । उनले भदौ २४ गते खुमलटारस्थित प्रचण्डको घर जलाइनुभन्दा दुई दिनअघि नै त्यहाँबाट ‘दुई ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर लुकाइएको जिकिर गरेका थिए ।
उजुरीमा ‘डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहको माग गरिएको’ प्रचण्डको सचिवालयले जनाएको छ ।
“यसरी झुट्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ । सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिएको छ,” सचिवालयले भनेको छ ।