काठमाडौं । अफ्रिकी देश माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिनाको शासनविरुद्ध जारी प्रदर्शन तीव्र बन्दै गएको छ । माडागास्करका केही सैनिकले पनि आदेशको अवज्ञा गर्दै राजधानी एन्टानानारिभोमा भेला भएका हजारौँ प्रदर्शनकारीसँग हात मिलाएका छन् ।
युवा नेतृत्वको यो आन्दोलन केन्या र नेपालमा भएको ‘जेनजी’ प्रदर्शनबाट प्रेरित रहेको बताइन्छ । सेप्टेम्बर २५ मा हिन्द महासागरको उक्त टापु राष्ट्रमा विरोध सुरु भएको थियो । प्रदर्शनकारी पहिलोपटक शनिबार राजधानीको ‘मे १३ स्क्वायर’मा प्रवेश गरेका थिए ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न स्टन ग्रेनेड र अश्रुग्यास प्रहार गरेपछि सैनिक घटनास्थलमा पुगेका थिए । उनीहरूलाई प्रदर्शनकारीले हर्षोल्लासका साथ स्वागत गरेका थिए ।
सोआनिराना जिल्लाको बेसमा रहेका सैनिकले सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा भनेका छन्, “हामी सेना, अर्धसैनिक बल र प्रहरी एउटै हौँ । पैसा लिएर आफ्ना साथी, दाजुभाइ र दिदीबहिनीमाथि गोली चलाउने आदेश अस्वीकार गरौँ ।”
उनीहरूले विमानस्थलमा रहेका सैनिकलाई कुनै पनि विमानलाई उड्न नदिन आग्रह गरे । अरू शिविरमा रहेका सैनिकलाई आफ्ना साथीहरूमाथि गोली चलाउने आदेश अस्वीकार गर्न उनीहरूले आह्वान गरे ।
“ढोकाहरू बन्द गर्नुहोस् र हाम्रो निर्देशनको प्रतीक्षा गर्नुहोस्,” उनीहरूले भने, “आफ्ना वरिष्ठ अधिकृतहरूको आदेश नमान्नुहोस्, जसले तपाईंलाई आफ्नै सहकर्मीमाथि गोली चलाउन आदेश दिन्छ, उसैविरुद्ध हतियार सोझ्याउनुहोस्, किनभने यदि हामी मर्यौँ भने उनीहरूले हाम्रो परिवारको हेरचाह गर्ने छैनन् ।”
स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको एक भिडियोमा केही सैनिक ब्यारेकबाट निस्केर प्रदर्शनकारीलाई ‘मे १३ स्क्वायर’तर्फ लैजाँदै गरेको देखाइएको थियो ।
उक्त स्थान विगतका धेरै राजनीतिक विद्रोहको केन्द्र रहँदै आएको छ । अशान्तिको समयमा कडा सुरक्षासहित त्यहाँ प्रवेश निषेध गरिएको थियो ।
शनिबारको प्रदर्शन पछिल्ला दिनमा युवा नेतृत्वको आन्दोलनअन्तर्गत देखिएको सबैभन्दा ठूलो थियो । यो आन्दोलन सुरुमा बिजुली र पानीको अभावप्रति जनआक्रोशका रूपमा सुरु भएको भएको थियो । पछि सरकारविरोधी बृहत् अभियानमा रूपान्तरण भएको हो ।
शनिबार कति सैनिक उक्त आह्वानमा सामेल भए भन्ने स्पष्ट छैन । नवनियुक्त सशस्त्र बलमन्त्रीले सैनिकलाई शान्त रहन आह्वान गरेका छन् ।
“हामीसँग असहमत रहेका हाम्रा भाइहरूलाई वार्तालाई प्राथमिकता दिन आग्रह गर्दछौँ,” मन्त्री जनरल डेरामासिन्जाका मानान्सोआ राकोटोआरिभेलोले पत्रकार सम्मेलनमा भने, “मालागासी सेना मध्यस्थकर्ताको भूमिकामा रहन्छ र राष्ट्रको अन्तिम रक्षाकवच हो ।”
बिहीबार सुरक्षा बलले अश्रुग्यास, रबरका गोली र सशस्त्र गाडी प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पार्दा कैयौँ व्यक्ति घाइते भएका थिए ।
संयुक्त राष्ट्रसंघले शुक्रबार अधिकारीहरूलाई अनावश्यक बल प्रयोग नगर्न र स्वतन्त्र रूपमा भेला हुने तथा शान्तिपूर्ण सभा गर्ने अधिकारको सम्मान गर्न आग्रह गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार, प्रदर्शनमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । १०० जना घाइते छन् ।
राजोएलिनाले भने उक्त तथ्यांक अस्वीकार गरेका छन् । उनले बुधबार १२ जनाको मृत्यु भएको र ती सबै व्यक्ति लुटेरा तथा तोडफोडमा संलग्न रहेका बताएका छन् ।
सुरुआतमा राजोएलिनाले मेलमिलापको नीति अपनाएका थिए । प्रदर्शनको प्रतिक्रियामा उनले आफ्नो सरकार विघटन गरेका थिए ।
तर, त्यसपछि उनले अडान झन् कडा पार्दै सोमबार सैन्य अधिकारी रुफिन फोर्चुनाट जाफिसाम्बोलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै, उनले नयाँ मन्त्रिपरिषद्को पहिलो सदस्यहरू सशस्त्र बल, सार्वजनिक सुरक्षा र प्रहरी क्षेत्रबाट चयन गरेका छन् ।
विश्वको सबैभन्दा गरिब देशमध्ये एक माडागास्करले सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेयता बारम्बार जनविद्रोह भोगेको छ । यसमा सन् २००९ को विशाल प्रदर्शन पनि पर्छ । त्यति बेला तत्कालीन राष्ट्रपति मार्क राभालोमानाना सत्ताच्युत भएका थिए । र, सेनाले राजोएलिनालाई पहिलो कार्यकालका निम्ति सत्तामा ल्याएको थियो । उनले सन् २०१८ र २०२३ मा विपक्षीद्वारा बहिष्कृत विवादास्पद निर्वाचनमा पुनः विजय प्राप्त गरेका थिए । अलजजिराबाट ।