site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजा सम्झौताजस्तै युक्रेन युद्ध अन्त्य गराउन ट्रम्पलाई जेलेन्स्कीको आग्रह
डोनाल्ड ट्रम्प (दायाँ) र भोलोदिमिर जेलेन्स्की । फाइल तस्बिर : एजेन्जी ।

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई फोन गरेर मध्यपूर्वमा जस्तै युक्रेनमा पनि शान्ति वार्ताको मध्यस्थताका निम्ति आग्रह गरेका छन् । उनले भने, “यदि, अमेरिकी राष्ट्रपतिले एउटा युद्ध रोक्न सक्छन् भने अरू युद्ध पनि रोक्न सकिन्छ ।”

शनिबार यो वार्ता रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो मात्रामा आक्रमण सुरु गरेको भोलिपल्ट भएको हो । उक्त आक्रमणबाट राजधानी किभसहित युक्रेनका नौ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । हाल त्यो पुनर्स्थापित भइसकेको छ ।

किभका अनुसार, इजरायल–गाजा युद्धविराम गराउनेतर्फ विश्वको ध्यान केन्द्रित हुँदा पछिल्ला साता रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास सुस्त भएको छ ।

गएको बुधबार ट्रम्पले इजरायल र हमासबीच युद्धविरामको पहिलो चरणको घोषणा गरेका थिए । उनले यही वर्षको अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरे पनि युरोपेली युद्धमा कुनै ठोस प्रगति गर्न सकेका थिएनन् ।

जेलेन्स्कीले फेसबुक पोस्टमा लेखेका छन्, “मैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेँ । यो धेरै सकारात्मक र फलदायी वार्ता थियो ।”

उनले मध्यपूर्वमा उत्कृष्ट युद्धविराम योजनाका निम्ति ट्रम्पलाई बधाई दिएका छन् । “यदि, एक क्षेत्रमा युद्ध रोक्न सकिन्छ भने निश्चित रूपमा रुसी युद्धसहित अरू युद्धहरू पनि रोक्न सकिन्छ,” जेलेन्स्कीले थपे ।

उनले शान्ति वार्ताका निम्ति रुसी नेतृत्वमाथि दबाब दिन ट्रम्पसँग आग्रह गरेका छन् । अलजजिराबाट ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्