काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेन तीव्र गतिमा फैलने प्रोस्टेट क्यान्सरसँग जुधिरहेका छन् । पद छाडेपछि बाइडेनमा यो रोग पत्ता लागेको थियो ।
हाल उनी त्यसको उपचारको नयाँ चरणमा रेडिएसन (विकिरण) थेरापी तथा हर्मोन स्वास्थ्य सेवा लिइरहेका उनका एक प्रवक्ताले शनिबार जानकारी दिएका छन् । बाइडेनकी सहायक केली स्कलीले भनिन्, “प्रोस्टेट क्यान्सरको उपचारका निम्ति पूर्वराष्ट्रपति अहिले रेडिएसन थेरापी र हर्मोन उपचार लिइरहनुभएको छ ।”
डेमोर्क्र्याटिक पार्टीका ८२ वर्षीय बाइडेनले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँगको कमजोर बहस प्रदर्शन र आफ्नो उमेर, स्वास्थ्य तथा मानसिक क्षमताका विषयमा बढ्दो चिन्ताका कारण पुनः चुनाव नलड्ने निर्णय गरेका थिए । त्यसपछि उनले जनवरीमा राष्ट्रपति पदबाट अवकाश लिएका थिए । उक्त चुनावमा ट्रम्पले बाइडेनकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका थिए ।
बाइडेनले पद छाडेपछि गएको मेमा राष्ट्रपतिको कार्यालयले उनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि गरेको थियो । यो क्यान्सर उनको हड्डीसम्म फैलिएको जनाइएको थियो ।
प्रोस्टेट क्यान्सरको गम्भीरता मापन गर्न ग्लिसन स्कोर नामक प्रणाली प्रयोग गरिन्छ । यो स्कोर ६ देखि १० सम्म हुन्छ । ८, ९ र १० स्कोर भएका क्यान्सरलाई सबैभन्दा आक्रामक वा तीव्र गतिले बढ्ने मानिन्छ । बाइडेनको कार्यालयले उनको स्कोर ९ रहेको जनाएको छ ।
गएको महिना बाइडेनको निधारमा रहेका छालाको क्यान्सरका दाग हटाउन शल्यक्रिया गरिएको थियो । उनको छालामा क्यान्सरका स–साना घाउ थिए । त्यसलाई चिकित्सकले शल्यक्रियामार्फत पूर्ण रूपमा निकालेका थिए । हिन्दुस्तान टाइम्सबाट ।