site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बन्धक फिर्ता ल्याइँदै गरेको ट्रम्पको घोषणा, गाजामा प्रवेश गर्न थाले खाद्यान्न ट्रक
तस्बिर : रोयटर्स ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बाँकी रहेका इजरायली बन्धक ‘अहिले नै’ फिर्ता ल्याइँदै गरेको बताएका छन् । ट्रम्पले आफ्नो युद्धविराम योजनाको अबका कदम कस्तो हुने भन्ने विषयमा इजरायल र हमासबीच धेरै हदसम्म सहमति रहेको पनि बताएका छन् ।

तर, बन्धकको रिहाइका निम्ति तोकिएको ७२ घण्टे अवधि अगाडि बढ्दै गर्दा गाजा युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावबारे अझै धेरै अनिश्चितता बाँकी नै छ ।

एक स्रोतका अनुसार, गाजामा बाँकी रहेका बन्धकको रिहाइ स्थानीय समयानुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म हुनसक्छ । र, यो कार्य विभिन्न स्थानबाट हुने सम्भावना छ । यद्यपि, रिहाइको समय निश्चित भइसकेको छैन र यसमा परिवर्तन हुनसक्छ ।

योजना अनुसार, सन् २०२३ को अक्टोबर ७ मा बन्धक बनाइएकाको परिवारले शनिबार साँझ इजरायलको तेल अभिभस्थित होस्टेज स्क्वायरमा वक्तव्य जारी गर्ने कार्यक्रम छ । यो वक्तव्य स्थानीय समयानुसार साँझ ५ः४५ बजे जारी गरिने अपेक्षा छ ।

बन्धकको बदलामा युद्धविराम सम्झौताको एक भागका रूपमा इजरायलले आजीवन कारावासको सजाय भोगिरहेका २५० प्यालेस्टाइनी कैदी रिहा गर्नेछ । उक्त अक्टोबर ७ पछि गाजाबाट पक्राउ गरिएका १७ सय प्यालेस्टाइनीलाई पनि रिहा गर्नुपर्नेछ ।

इजरायलको न्याय मन्त्रालयले हिजो रिहा गरिने आजीवन कारावास भोगिरहेका प्यालेस्टाइनी कैदीको पूर्ण सूची प्रकाशन गरेको थियो ।

ट्रम्पको युद्धविराम प्रस्तावमा सम्झौता स्वीकार हुनेबित्तिकै पूर्ण रूपमा सहायता तुरुन्तै गाजापट्टीमा पठाइने भनिएको थियो । इजरायली मानवीय सहायता हस्तान्तरण निकायले शनिबार सीएनएनलाई राहत सामग्री बोकेका ट्रकहरू गाजा क्षेत्रमा प्रवेश गरिरहेका पुष्टि गरेको छ । यद्यपि, सहायताको मात्रा कति छ भन्ने स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्