काठमाडौं । अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौता लागु भएपछि शुक्रबार हजारौँ प्यालेस्टाइनी उत्तरी गाजापट्टी फर्किएका छन् । यो सम्झौताले इजरायल र हमासबीचको युद्ध अन्त्य हुने आशा जगाएको छ । हमासले बाँकी रहेका सबै बन्धकलाई केही दिनभित्रै रिहा गर्ने जनाएको छ ।
यद्यपि, इजरायली सैनिक बिस्तारै पछि हटेपछि गाजामा कसले शासन गर्ने र हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम योजनाअनुसार हतियार त्याग्नेछ वा छैन भन्ने प्रश्न अझै अनुत्तरित छ ।
ध्वस्त सहर र भग्नावशेषमा परिणत बस्तीमा टुटेका मनका साथ मानिस फर्किरहेका हृदयविदारक दृश्य र भिडियो सार्वजनिक भइरहेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसअघि मार्चमा एकतर्फी रूपमा युद्धविराम सम्झौता अन्त्य गरेका थिए । उनले यसपटक पनि हमासले हतियार नत्यागेमा इजरायलले पुनः आक्रमण सुरु गर्न सक्ने बताएका छन् ।
शुक्रबार नेतान्याहूले सम्झौताका आउँदा चरणमा हमासलाई निःशस्त्र गरिने र गाजालाई सैन्यीकरणमुक्त बनाइने बताए । उनका अनुसार, हमास यो सम्झौतामा सहमत हुनुको कारण तरबार अझै आफ्नो घाँटीमा झुन्डिएको महसुस गर्नु हो ।
एक इजरायली सुरक्षा अधिकारीका अनुसार, सेनाले गाजाको करिब ५० प्रतिशत क्षेत्रमा नियन्त्रण कायम राख्नेछ ।
यो युद्धको सुरुआत सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणपश्चात् भएको थियो । त्यति बेला करिब १२ सय मानिस मारिएका थिए । २५१ जनालाई हमासले बन्धक बनाएको थियो ।
इजरायलको जवाफी सैन्य हमलामा हजारौँ प्यालेस्टाइनी मारिएका छन् । गाजा ध्वस्त भएको छ । यसबाट विश्व राजनीतिमा ठूलो हलचल मच्चिएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, त्यहाँ हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । करिब एक लाख ७० हजारजना घाइते भएका छन् ।
सम्झौताअनुसार, सोमबारसम्म ४८ बन्धक रिहा गरिनेछ । उनीहरूमध्ये करिब २० जना जीवित रहेका अपेक्षा गरिएको छ ।
गाजालाई संयुक्त राष्ट्रसंघबाट राहत सामग्रीको ठूलो खेप प्राप्त हुने भएको छ । यो मानवीय सहायतामा एक लाख ७० हजार मेट्रिकटन सामग्री समावेश हुनेछ । त्यसको ठूलो भाग पहिले नै जोर्डन र इजिप्टजस्ता छिमेकी देशमा पुर्याइएको छ ।
मानवीय सहायता अधिकारीहरू आफ्नो काम फेरि सुरु गर्न इजरायली सेनाको अनुमति पर्खिरहेका छन् । अलजजिराबाट ।