काठमाडौं । ०८२ सालको दसैँ नेपाली चलचित्र उद्योगका लागि सुखद रहेन । विगत वर्षका दसैँका सिनेमा र यसपालि प्रदर्शित चलचित्रमध्ये कुन राम्रा थिए अलग पाटो हो । तर, बक्सअफिस कलेक्सनका हिसाबले यो वर्ष फलदायी रहेन ।
गत वर्ष दसैँमा ल्याइएका सिनेमाको एक हप्ताको ग्रसकलेक्सन र यसपालिको रिपोर्टमा ठूलो अन्तर देखिएको छ । गत वर्ष एउटाले गरेको ग्रसकलेक्सनलाई यसपालि तीन सिनेमाको आम्दानीले पनि भेट्टाउन सकेन ।
चलचित्र ‘१२ गाउँ’ले गत वर्ष एक सातामा १० करोड पाँच लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । वितरक गोविन्द शाहीका अनुसार, यो सिंगल थिएटरसहितको कलेक्सन थियो ।
तर, यो वर्ष ‘१२ गाउँ’कै मुख्य कलाकार समीर भट्ट प्रमुख भूमिकामा रहेको चलचित्र ‘बलिदान’ले आठ दिनमा जम्मा तीन करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गर्यो । चलचित्र विकास बोर्डले दिएको यो आधिकारिक तथ्यांक हो ।
गत वर्ष ‘१२ गाउँ’ले एक सातामै कलेक्सन गरेको १० करोड पाँच लाख भने बोर्डले दिएको तथ्यांक थिएन । वितरकले दिएको मौखिक जानकारी थियो ।
‘बलिदान’ले पनि विकास बोर्डले रिपोर्ट सार्वजनिक गर्नुअघि पाँच करोडभन्दा धेरै कलेक्सन गरिसकेको यसका निर्देशक सन्तोष सेनले बताएका थिए । बोर्डले सार्वजनिक गरेको तथ्यांकमा सिंगल थिएटरको रिपोर्ट समावेश छैन ।
बोर्डले बक्सअफिस प्रणालीभन्दा बाहिर रहेर सिनेमा हल सञ्चालन र चलचित्र प्रदर्शन गर्न नपाइने जनाएको छ । त्यसरी सिनेमा प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।
सोही अवधि (एक हप्ता)मा गत वर्ष ‘छक्का पञ्जा’ले पनि १० करोड रुपैयाँ कलेक्सन गरेको निर्माता दीपकराज गिरीले बताएका थिए । त्यो ‘१२ गाउँ’पछि दोस्रो स्थानमा थियो ।
यो वर्ष ‘बलिदान’सँगै रिलिज गरिएको तर ग्रसकलेक्सनमा दोस्रो स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले तीन करोड २१ लाख ७० हजार रुपैयाँको व्यापार गर्यो ।
गत वर्ष ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ सँगै ‘ज्वाइँ साब’ पनि रिलिज गरिएको थियो । ‘ज्वाइँ साब’ले भने बक्सअफिसमा उल्लेख्य कलेक्सन गर्न सकेको थिएन ।
यो वर्ष दसैँमा आम्दानीका हिसाबले तेस्रो स्थानमा रहेको ‘माइतीघर’ले एक सातामा दुई करोड १३ लाख ६४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको बोर्डको तथ्यांक छ ।
गत वर्ष दुई चलचित्रले मात्र वितरकको दाबीअनुसार एक हप्तामा २० करोडभन्दा माथि कलेक्सन गरेका थिए । यो वर्ष सोही अवधिमा तीन चलचित्र ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले नौ करोड नौ लाख रुपैयाँ मात्र कलेक्सन गरेका छन् ।
यो तथ्याकंले गत वर्षको तुलनामा यसपालि नेपाली चलचित्रको व्यापार निकै कमजोर रहेको पुष्टि गर्छ । दसैँ बिदालक्षित यी तीन चलचित्र रिलिज गरिएको थियो । दसैँको बिदा सकिइसकेको छ । यी चलचित्रले ‘लाइफटाइम’ कलेक्सन कति गर्छन्, त्यो अहिले नै निश्चित भइसकेको छैन । तर, गत वर्षको आँकडा छुन अब करिबकरिब असम्भव रहेको संकेत प्रस्ट देखिइसकेको छ ।
गत वर्ष एउटै चलचित्रले गरेको कलेक्सन यसपालि तीन सिनेमाले पनि नगर्ने संकेत देखिएको छ । पोहर करिब २० करोड रुपैयाँ ‘१२ गाउँ’ले कलेक्सन गरेको बोर्डको तथ्यांक छ । यसको व्यापार सिंगल थिएटरसहित २६ करोडभन्दा माथि रहेको वितरकको दाबी थियो ।
वितरकको दाबीलाई सही मान्ने हो भने यो वर्ष ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले ‘१२ गाउँ’को आँकडा छुन्छन् भन्नेमा स्वयं निर्देशक/कलाकारकै संशय छ ।
यो वर्ष हलमा ‘फुटफल’ नै राम्रो देखिएको छैन । एक हप्तामा दुई लाख ७८ हजार ५४० जनाले हलमा पुगेर चलचित्र हेरेका छन् । ‘बलिदान’ एक लाख १९ हजार ५६१ जनाले हेरे । एक सातामा ‘हरिबहादुरको जुत्ता’ ९० हजार ९४७ र ‘माइतीघर’ ६८ हजार ३२ जनाले हलमा गएर हेरेका बोर्डको तथ्यांक छ ।
यो संख्यालाई सन्तोषजनक नै मान्नुपर्ने अभिनेता दयाहाङ राई बताउँछन् । हालको विषम परिस्थितिलाई हेरेर मूल्यांकन गर्नुपर्ने उनको तर्क छ । ‘जेनजी’को आन्दोलनको त्रास र प्राकृतिक विपत्तिलाई अलग राखेर मूल्यांकन र तुलना गर्न नहुनेमा दयाहाङ जोड दिन्छन् ।
आन्दोलन र प्राकृतिक विपत्तिका कारण हलमा पुगेर चलचित्र हेर्ने वातावरण नरहेको उनको निष्कर्ष छ । गत वर्षको दसैँको तुलनामा यसपालि ६० प्रतिशत कलेक्सन भए त्यसलाई सफलता मान्नुपर्ने उनी बताउँछन् ।
“अहिले प्रदर्शन भइरहेका चलचित्रको बक्सअफिस प्रोजेक्सन जे थियो, त्यसको ६० प्रतिशत मात्रै देखियो भने पनि त्यो एकदम माथि पुगेको हो जस्तो मलाई लाग्छ,” दयाहाङ भन्छन्, “अहिलेको वातावरण हेर्दा गत वर्षको ६० प्रतिशत तल हुँदा पनि हामी खुसी हुनुपर्ने अवस्था छ ।”
हालको अवस्थामा ६० प्रतिशत कलेक्सन हुँदा पनि खुसी हुनुपर्ने उनको भनाइ छ । “कतिजनाको परिवारका सदस्य खोसिएको अवस्था छ । आन्दोलन र प्राकृतिक प्रकोपको प्रभाव टोल, छिमेक, परिवारमा परिरहेको छ, यस्तो अवस्थामा खुसी भेट्टाउन सकिँदैन,” उनी अगाडि भन्छन्, “अहिलेको अवस्थामा हामीमा अन्योल छ । आक्रोशित पनि छौँ । संयमता अपाउनुपर्ने अवस्था छ ।”
चलचित्र सधैँ खुसी भएर हेर्न जाने गरिएको भन्दै उनले विगतको वर्षको वातावरण अहिले नरहेकामा प्रस्ट हुनुपर्ने बताउँछन् । “कति परिवारले आफ्नो परिवारको सदस्य गुमाउनुभएको छ, टोल, छिमेक र गाउँको सदस्य गुमाएको अवस्थामा सिनेमा हेर्ने वातावरण पहिलाजस्तो छैन कि ?”
त्यसैले सामान्य अवस्थाका निम्ति ‘प्रोजेक्सन’ गरिएको बक्सअफिस हाल नदेखिनु नौलो नरहेको उनी टिप्पणी गर्छन् । आन्दोलनको बाछिटा रहिरहेको र प्राकृतिक विपत्तिको घाउ आलै रहेकाले संयमता अपनाउनुपर्नेमा दयाहाङको जोड छ ।
गत वर्षको दसैँमा ‘१२ गाउँ’, ‘छक्का पञ्जा–५’, ‘ज्वाइँ साब’ र ‘बेहुली फ्रम मेघौली’ रिलिज भएका थिए । चलचित्र वितरक अशोक शर्माका अनुसार, यी चलचित्रको लाइफटाइम कलेक्सन ५४ करोड रुपैयाँ थियो । यसपालि तीन सिनेमाको लाइफटाइम कलेक्सन हलबाट उत्रिएपछि थाहा हुनेछ ।
तर, गत वर्षको आँकडा छुन सक्ने अवस्था नदेखिएको शर्माले बताएका छन् । आन्दोलन र प्राकृतिक विपत्ति तथा स्वयं चलचित्रको समीक्षाका कारण गत वर्षको तुलनामा यसपालि बक्सअफिस कमजोर देखिरहेको उनको भनाइ छ ।
राम्रो ‘पब्लिक रिभ्यु’ नआउनु बक्सअफिस कमजोर हुनुको अर्को मुख्य कारण भएको उनको तर्क छ । चलचित्र राम्रो भएको अवस्थामा ढिलोचाँडो बक्सअफिसमा सुधार हुने उनको अनुभव छ ।
“पब्लिक रिभ्यु राम्रो भयो भने इनिसियल कलेक्सन राम्रो नभए पनि दोस्रो/तेस्रो हप्तामा कलेक्सन राम्रो हुन्छ,” निर्देशक, कलाकार समेत रहेका वितरक शर्मा भन्छन्, “तर, यसपटकका चलचित्रमा त्यो देखिएन । समीक्षा राम्रो नआउँदा त्यसको असर बक्सअफिसमा देखियो ।”
शर्माको भनाइलाई चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि पुष्टि गर्छ । गत वर्ष रिलिज गरिएको यो चलचित्रले १०औँ दिन सबैभन्दा धेरै कलेक्सन गरेको थियो । ‘पूर्ण बहादुरको सारङ्गी’ कात्तिक १५ गतेदेखि प्रदर्शन गरिएको थियो । यो चलचित्रले कात्तिक २४ गते (शनिबार) एकैदिन तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको थियो । त्यसको एक दिनअगाडि दुई करोड ९९ लाख ग्रसकलेक्सन गरेको थियो । यसले चलचित्रले राम्रो ‘वर्ड अफ माउथ’ पाए दोस्रो/तेस्रो हप्तामा पनि धेरै ग्रसकलेक्सन गर्छ भन्ने पुष्टि गर्छ । यो चलचित्रको दसौँ दिनको कलेक्सनले इनिसियल व्यापारको रेकर्ड बनाएका सिनेमालाई पनि पछि पारेको थियो । यो चलचित्रले पहिलो दिन १७ लाख रुपैयाँ कलेक्सन गरेको थियो ।
इनिसियल बिजनेसमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र ‘कबड्डी–४’ हो । यसले पहिलो दिन तीन करोडभन्दा माथि कलेक्सन गरेको थियो । यो रेकर्डलाई ‘पूर्ण बहादुरको सारङ्गी’को दशौँ दिनको कलेक्सनले उछिनेको थियो । यसले चलचित्र राम्रो भए इनिसियलपछि पनि राम्रो कमाइ गर्न सक्ने वितरक शर्माको तर्कलाई पुष्टि गर्छ ।
