site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनको ऊर्जा संरचनामा रुसको भीषण हमला, नौ क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध

काठमाडौं । रुसी सेनाले रातभर युक्रेनका ऊर्जा सुविधाहरूमा भीषण आक्रमण गर्दा नौ क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । राजधानी किभका केही भाग अँध्यारो भएको युक्रेनी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

फेब्रुअरी २०२२ मा सुरु भएको युद्धपछि अर्को जाडो नजिकिँदै गर्दा रुसले युक्रेनको ऊर्जा संरचनालाई लक्षित गर्दै गरेको पछिल्लो आक्रमणमा दक्षिणपूर्वी क्षेत्रमा एक  सात वर्षीय बालकको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

“जाडो सुरु हुनुअघि नागरिक तथा ऊर्जा पूर्वाधार नै रुसको हमलाको मुख्य निसाना बन्नु चिन्ताजनक विषय हो,” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै बताएका छन् ।

उनले किभका सहयोगी राष्ट्रहरूसँग थप सहयोगको आह्वान गर्दै भनेका छन्, “अहिले देखावटी होइन, निर्णायक कार्य आवश्यक छ । अमेरिका, युरोप र जी–७ राष्ट्रहरूबाट हवाई रक्षा प्रणालीको आपूर्ति र प्रतिबन्धहरूलाई कडाइका साथ लागु गरिनुपर्छ ।”

किभवासीका लागि शुक्रबारको बिहान बिजुली कटौती, पानी आपूर्तिमा अवरोध र यातायात ढिलाइ सुरु भयो ।

२३ वर्षीय विद्यार्थी अनातोलीले रोयटर्सलाई भने, “घरबाट निस्कँदा न बिजुली थियो न पानी । मेट्रो रेल चलेको छैन र बसहरू भरिएकाले म काममा जान सकिरहेको छैन ।” 

प्रधानमन्त्री युलिया स्विरिडेन्कोले यो आक्रमण ऊर्जा पूर्वाधारमाथिको सबैभन्दा भीषण तथा केन्द्रित आक्रमणमध्ये एक भएको र यसबाट ठूलो क्षति भएको जानकारी दिइन् ।

गभर्नर माइकोला कलाश्निकका अनुसार, शुक्रबार बिहानसम्म किभ क्षेत्रमा करिब २८ हजार परिवार बिजुलीविहीन छन् ।

यस आक्रमणले मध्य क्षेत्र पोल्टावाको ऊर्जा पूर्वाधारमा पनि क्षति पुर्‍याएको छ, जहाँ क्षेत्रीय अधिकारीहरूका अनुसार, करिब १७ हजार उपभोक्ता बिजुलीबाट वञ्चित छन् ।

युक्रेनी निजी ऊर्जा कम्पनी डीटीईकेले आफ्ना थर्मल पावर प्लान्टहरूमा आक्रमणबाट ठूलो क्षति पुगेको जनाएको छ, यद्यपि विस्तृत विवरण तत्काल उपलब्ध गराइएको छैन ।

सरकारले राजधानीको पानी आपूर्ति शुक्रबार साँझसम्म पुनर्स्थापित हुने अपेक्षा गरेको छ र मर्मत कार्य जारी रहेको उल्लेख गर्दै महत्त्वपूर्ण पूर्वाधारहरूमा बिजुली आपूर्ति पुनः सुरु भइसकेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्