site stats
बाह्रखरी :: Baahrakhari
कला
‘वरिष्ठ बलराम’को ट्रेलरमा के छ ?

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ ।

खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि सिनेमाको ट्रेलर घुमेको छ ।

आफू गरिब भएकै कारण अरूको हेपाइसीमा परेको अनुभूत गर्ने विजय र आफूले ढुंगा, बालुवा उठाइरहेको खोलामा अर्कोले हस्तक्षेप गरेपछि त्यसलाई ठेगान लगाउने दयाहाङको नोकझोक ट्रेलरमा छ ।

दयाहाङ अगाडिपछाडि केटा लगाएर रवाफका साथ हिँडिरहेको देखिने ट्रेलरमा विजय एक नवयौवना समृद्धि अर्यालको प्रेममा छन् ।

जात र कुल ठेगान नभएका विजयको चोला परिवर्तन गर्ने चाहना र आफ्नो हैकम ओरालो लाग्न नदिने दयाहाङको ढिट ट्रेलरमा देख्न सकिन्छ । आफ्नो झोलामा खोला राखेर त्यसमा रजगज गर्ने दयाहाङ र त्यसको स्वाद आफू पनि लिन खोज्ने विजयको प्रयासलाई ट्रेलरमा समेटिएको छ ।

स्तर उकास्न खोज्ने र स्तर कायम राखीराख्न खोज्नेबीचको द्वन्द्व ट्रेलरमा रोचक देखिएको छ । ट्रेलरमा वरिष्ठको चरित्रमा दयाहाङ र बलरामको चरित्रमा विजय देखिएका छन् ।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्