site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मंसिरभित्र नियमित महाधिवेशन गरौँ, नभए विशेषको विकल्पमा जाऔँ : विश्वप्रकाश शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आसन्न महाधिवेशन मंसिर मसान्तभित्रै नियमितरूपमा सम्पन्न गर्न सकिने बताएका छन् । नियमित महाधिवेशन छोटो समयमा गर्न नसकिने निष्कर्षमा केन्द्रीय समिति पुगेमा विशेष महाधिवेशन विकल्पको रूपमा रहेको उनको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महामन्त्री शर्माले भने, "नियमित महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ । यसले सभापतिज्युको बहिर्गमनलाई पनि सहज बनाउनेछ ।"

शर्माले नियमित महाधिवेशनका लागि रातदिन खट्न सक्ने नेतृत्व चाहिनेमा जोड दिएका छन् । त्यसका लागि कार्यवाहकले तयारी गर्ने वा अन्य कुनै सिनियर नेताले संयोजन गर्ने भन्ने टुंगो लगाउनु उचित हुने उनको भनाइ छ ।

उनका अनुसार, नियमित महाधिवेशन गर्दा विधानमा संशोधन गरेर सबै तहमा व्यापक युवा सहभागिता बढाउन सकिन्छ ।

अर्को प्रसंगमा महामन्त्री शर्माले फागुन २१ मा चुनाव गर्नका लागि सरकारलाई साथ र दबाब दिएर जानुपर्ने धारणा राखेका छन् । उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्ने निर्णय कार्यसम्पादन समितिबाट भइसकेको पनि स्मरण गराए ।

"अदालतले यसको संवैधानिक परीक्षण के गर्छ, त्यो नै अन्तिम हुनेछ," उनले भने ।

यद्यपि, सबै राजनीतिक दलले चुनावमार्फत प्रणालीलाई ट्र्याकमा ल्याउने बाटो रोज्नु उत्तम हुने उनको भनाइ छ ।

उनले केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको तयारीसँगसँगै निर्वाचनमा जाने निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्